गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखबीच भेटवार्ता, विपद् पूर्वतयारी र सीमा सुरक्षा मुख्य एजेन्डा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको उच्चस्तरीय टोलीबीच मंगलबार गृह मन्त्रालयमा छलफल भएको छ । उक्त बैठकमा विशेष गरी मनसुनजन्य तथा अन्य सम्भावित विपद् व्यवस्थापन र सीमा सुरक्षाको सुदृढीकरणका विषयमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको थियो । बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएकाे छ । सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीति तय गर्ने, उपलब्ध स्रोत-साधनको समुचित व्यवस्थापन गर्ने र सुरक्षा निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । नागरिकको जीउधनको रक्षाका लागि प्रतिकार्य योजनालाई चुस्त राख्न गृहमन्त्री गुरुङले निर्देशन दिए । यसैगरी, सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि सीमा गस्तीलाई थप कडा बनाउने निर्णय भएको छ । सीमानाकाबाट हुने चोरी-पैठारी र आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन र सम्झौता नगरी कार्यसम्पादन गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सभापति रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच मंगलबार लामिछानेको निजी निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ । उक्त भेटघाटका क्रममा सभापति लामिछानेले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको जानकारी गराए । मधेसको विकास र त्यहाँका जनताका समस्या समाधानमा सरकार गम्भीर रहेको लामिछानेको भनाइप्रति अध्यक्ष साहले खुसी व्यक्त गरे । छलफलका क्रममा दुवै नेताले हालैको जनमतले देश र विशेषगरी मधेस क्षेत्रमा ठूलो परिवर्तनको अपेक्षा गरेको बताए । जनताले दिएको मतको कदर गर्दै आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यमार्फत अघि बढ्ने विषयमा समेत उनीहरूबीच छलफल भएको थियो । भेटघाटका क्रममा अध्यक्ष साहले रास्वपाको उदय र सभापति लामिछानेले खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई औपचारिक रूपमा बधाई तथा सफल कार्यकालको शुभकामनासमेत ज्ञापन गरेका थिए ।
रास्वपा सभापति लामिछाने र नेता महन्थ ठाकुरबीच भेटवार्ता, मधेसको विकास र सहकार्यमा जोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निजी निवासमा भएको उक्त भेटवार्तामा उनीहरूबीच वर्तमान राजनीतिक परिस्थिति र मुलुकको समसामयिक विषयमा छलफल भएको हो । भेटका क्रममा विशेषगरी मधेस प्रदेशको विकास, त्यहाँका नागरिकले झेलिरहेका समस्या र राज्यले प्राथमिकता दिनुपर्ने नयाँ योजनाका बारेमा विस्तृत कुराकानी भएको लामिछानेको सचिवालयले जनाएकाे छ । दुवै नेताहरूले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका क्षेत्रमा मधेसमा विशेष प्याकेजको आवश्यकता रहेको कुरामा जोड दिएका थिए । छलफलका क्रममा पछिल्लो जनादेशको सम्मान गर्दै देशको समग्र विकासका निम्ति साझा एजेन्डामा सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।