रूसका परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनाललाई दिए बधाई
काठमाडौं । रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । यहाँस्थित रुसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री खनाललाई उनका रूसी समकक्षी लाभरोभले बुधबार एक शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् । दुई देशबीचको दीर्घकालीन सम्बन्धको चर्चा गर्दै उनले रूस र नेपालबीच परम्परागत रूपमा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको सन्देशमा उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवर्द्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । सन्देशमा रूसी परराष्ट्रमन्त्रीले परराष्ट्रमन्त्री खनालको सुस्वास्थ्य तथा कार्यकालको सफलताको कामना पनि गरेका छन् ।
सुदन किरातीले प्रलोपा छोडे, श्रम संस्कृतिमा प्रवेश गर्ने
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपा गठन गरेर सोही पार्टीमा सक्रिय बनेका थिए । उनी अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । केही दिनअघि पनि साम्पाईले किरातीलाई पार्टीमा स्वागत गर्ने तयारी भइरहेको बताएका थिए । उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेर प्रदेश सांसदमा प्रतिस्पर्धा गर्दै मुख्य मन्त्री बन्ने तयारीका साथ काम गरिरहेको बताइएको छ ।
सुरेन्द्र पाण्डे भन्छन्- एमाले निजी क्लबजस्तो बन्यो
काठमाडौं । रामबहादुर थापा (बादल) लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र आन्तरिक असन्तुष्टि देखिएको छ । पार्टीका नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत नेतृत्व शैलीमाथि टिप्पणी गरेका छन् । पाण्डेले संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन् । ‘सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद हो,’ उनले लेखेका छन् । उनले नेतृत्वप्रति लक्षित गर्दै ‘म नै पार्टी र पार्टी नै म’ भन्ने सोच हावी हुँदा संगठनभित्र सुधारको ढोका बन्द भएको टिप्पणी गरेका छन् । हालको राजनीतिक अवस्था-९ सिटमा सीमित भएको परिणामबाट पनि पार्टी नेतृत्वले पाठ नसिकेको उनको संकेत छ । पाण्डेले पुरानो ढर्रा, गुटगत राजनीति र संकुचित सोचले अब पार्टी अघि बढ्न नसक्ने स्पष्ट पारेका छन् । ‘एमालेलाई कसैको निजी क्लब होइन, आम कार्यकर्ता र जनताको साझा संस्था बनाउन साहसिक परिवर्तन आवश्यक छ,’ उनले भनेका छन् ।