देशमा जति काम हुनुपर्थ्यो त्यति हुन सकेन, केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले विगतमा केही भएन भन्ने भाष्यलाई चिर्न जरुरी रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद आङदेम्बेले यस्तो बताएका हुन्। उनले देशमा जति काम हुनुपर्ने हो त्यति नभएको स्वीकार गरे । ‘हो, यो भन्दा बढी हुनुपर्थ्यो तर, अनेक कारण हुन सकेन। अर्कोतिर हामी आत्मलोचित छौं । जे भए हामी सबैको प्यासले भएको हो । केही पनि भएन भन्ने कुरा सत्यको जगमा छैन,’ उनले भने । आङदेम्बेले अब देशमा खरानी बनाउन कोही पनि अघि नसरुन् भन्दै भदौ २३ र २४ गतेको घटनालाई एक एक केलाउन जरुरी रहेको बताए ।
हामीले सिंहदरबार बदल्न सुरु गरिसकेका छौं : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार बदल्न सुरु गरिसकेको बताएका छन् । नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताले सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको उल्लेख गर्दै बदल्न सुरु गरेको बताएका हुन् । सभापति लामिछानेले जनताको मतादेशको गुन जिम्मेवारी पूरा गरेर भए पनि तिर्ने बताए। ‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं, लामिछानेले भने ।
संसद्मा एमालेको माग–ओली र लेखकलाई रिहा गर
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई रिहा गर्न माग गरेका छन्। बैठक सुरु हुँदाबित्तिकै विरोध जनाउँदै एमाले सांसद गुरु बरालले ओली र लेखक पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहा गर्न माग गरेका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ । यो गम्भीर आपत्तिको विषय छ । आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं, बरालले भने । बरालले विरोध गरेपछि सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिएका थिए।