देउवाको गढ डडेल्धुरामा रास्वपाको ऐतिहासिक जित
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा यसपटक राजनीतिक समीकरण बदलिएको छ। लामो समय कांग्रेसको प्रभाव रहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हात पारेको छ। रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे। निर्वाचनमा नेकपाका उम्मेदवार मानसिंह माल ६ हजार ८३४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका चक्र स्नेहीले ३ हजार २६ मत मात्र ल्याए। न्यून मतका कारण स्नेहीको जमानत जफत भएको छ। डडेल्धुरा लामो समयदेखि कांग्रेसको बलियो गढ मानिँदै आएको थियो। २०४८ सालदेखि २०७९ सालसम्म भएका सात वटा निर्वाचनमा कांग्रेसबाट शेरबहादुर देउवा लगातार विजयी हुँदै आएका थिए। तर यसपटक देउवा उम्मेदवार नबन्दा कांग्रेसले नैनसिंह महरलाई मैदानमा उतारेको थियो।
झापा- ५ मा बालेन्द्रको ६६ हजार मत पुग्दा ओली १८ हजारमै सीमित, ३ हजार गणना बाँकी
झापा । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ आफ्नो अग्रता कायम राखेका छन् । कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म १ लाख ३ हजार ३ सय ७५ मत गणना भइसकेको छ । ताजा मतपरिणाम अनुसार बालेन्द्र शाहले ६६ हजार २०० मत प्राप्त गर्दै विजयतर्फ पाइला अगाडि बढाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर निकै फराकिलो देखिएको छ । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ७५२ मत प्राप्त गरेकी छिन् भने नेकपाका रञ्जित तामाङ १ हजार ४३५ मतका साथ चौथो स्थानमा रहेका छन् । अब गणना गर्न करिब ३ हजार मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना हुन बाँकी मतभन्दा बालेन्द्र शाहको अग्रता धेरै बढी रहेकाले यस क्षेत्रमा शाहको जित सुनिश्चित प्रायः देखिएको छ ।
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी, एमालेको जित सङ्ख्या तीन पुग्यो
काठमाडौं । दैलेख क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । पोखरेलले कुल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७ नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे । लक्ष्मीप्रसाद पोखरेलको यो जितसँगै प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको विजयी संङ्ख्या तीन पुगेको छ । यसअघि एमालेले बाँके-२ र बझाङ-१ मा जित हासिल गरिसकेको छ।