सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सिराहा(४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तपेश्वर यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायकले ७ हजार ९७२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका जनमत पार्टीका विरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत पाएका छन्।  त्यस्तै, नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला यादवले ४ हजार ६१ र जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत पाएका छन्। 

कञ्चनपुर-३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता विजयी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् ।  कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले तीन हजार ९०२ मत प्राप्त गरे । यस क्षेत्रमा एक लाख तीन हजार ८७ मतदाता रहेकामा ५८ हजार ३६१ मत खसेको थियो ।

समानुपातिकमा रास्वपाको अग्रता कायमै, कटायो ५ लाख मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि रास्वपाले अत्याधिक सिट जित्ने देखिएको छ । समानुपातिकको १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ । नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ । नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ । राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बाँसुरीमा भोट मागेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ । समानुपातिकबाट निर्वाचत हुन कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ । प्रत्यक्ष तर्फ शनिबार राती १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भएको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसको ११ जित ७ अग्रता, एमालेको ४ जित ८ अग्रता र नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ स्थानमा अग्रता छ । राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।