शुक्रबार मध्यरातदेखि संघीय संसद् अधिवेशन अन्त्य हुने
काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी पत्रअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्य गरिएको हो । यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु सत्र औपचारिक रूपमा समाप्त हुने भएको छ ।
भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल तथा चार विदेशी नागरिकसमेतलाई विशेष अदालतमा अभियोगपत्रसहित पेश गरेको हो । मुद्दामा अख्तियारले कुल ७ करोड ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ । अनुसन्धानका क्रममा महरा समूहको चिनियाँ नागरिकहरूसँगको सम्बन्ध र भेपमार्फत हुने सुन तस्करीमा संलग्नता खुलेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको अख्तियारको दाबी छ । मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।
पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा अख्तियारको मुद्दा दर्ता हुँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्ने भएको छ । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अख्तियारका कर्मचारीहरूले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा छन् । लामिछाने सर्वोच्च अदालतको बैठकमा रहेका कारण मुद्दा दर्ता प्रक्रिया केही ढिला भएको हो । विकासन्युजसँग कुरा गर्दै उनले भने,‘ म भर्खर कार्यालय आएर मुद्दा हेर्दैछु, केहीबेरमा मुद्दा दर्ता हुन्छ ।’ अख्तियार स्रोतका अनुसार महरा र उनका छोरा राहुलमाथि भेपमार्फत सुन तस्करीमा संलग्न रहेको आरोप छ । अनुसन्धानका क्रममा उनीहरूको चिनियाँ गिरोहसँग सम्बन्ध र आर्थिक कारोबार खुलेपछि मुद्दा दायर गरिएको हो। मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्ने लामिछानेले जानकारी दिए ।