रुपन्देही- ५ मा तौफिक अहमद खान विजयी

काठमाडौं । रुपन्देही- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान विजयी भएका छन् । उनी ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ र नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ मत प्राप्त गरे । विजयी भएका खानले भारतको बेङ्लोरबाट एमबीए गरेका छन् । उनले लुम्बिनीका युवाहरूमाझ रामो पहिचान बनाएका छन् ।  दिल्ली विश्वविद्यालयबाट अर्थशास्त्रमा ग्र्याजुएसन गरेका खान कार्बन क्रेडिट र डेटा माइनिङका बारेमा जानकारसमेत छन् ।   

बैतडीमा रास्वपाका हरिमोहनको अग्रता कायमै, एमालेका दामोदरले पछ्याउँदै

बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार रास्वपाका भण्डारीले ९ हजार ५३६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दामोदर भण्डारीले ९ हजार ४०३ मत ल्याएका छन् । दुईबीचको मतान्तर १३३ रहेको छ ।  त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दका ७ हजार ८२३, राप्रपाका भुपेन चन्दले ६ हजार १६६ मत र नेकपाका प्रमानन्द भट्टले ३ हजार ९०० मत प्राप्त गरेका छन् । अहिलेसम्म कुल ३४ हजार १०७ मत गणना भइसकेको छ ।   

अछाम–१ मा कांग्रेसका भरतबहादुर स्वाँर विजयी, झिनो मतले हारे रावल

काठमाडौं । अछाम–१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल १० हजार २३३ मतले दोस्रोमा सीमित भए। नेकपा एमालेका दीपकबहादुर साउदले सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याएर चौथो भएका छन् ।