महान्यायाधिवक्तामा डा. नारायण कँडेल सिफारिस
काठमाडौं । सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई उक्त पदमा नियुक्त गर्ने सिफारिस गरेको हो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । महान्यायाधिवक्ताले सरकारवादी मुद्दाहरूको अभियोजन र बहस पैरवी गर्दछ । महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता प्रकाश गौतमले कँडेल सिफारिस भएको जानकारी प्राप्त भएकाे बताए ।
सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख घिमिरेलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री, सांसदलगायत को उपस्थिति थियो। अर्याल आज प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । शपथ ग्रहणपश्चात अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् । त्यसपश्चात अर्यालले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन् ।
राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारी सर्वसम्मत चयन हुने
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लीला भण्डारी सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच भएको सहमतिअनुसार भण्डारीले आइतबार (आज) मनोनयन दर्ता गर्दैछिन् । दलहरूबीचको समझदारीअनुसार उपाध्यक्ष पद एमालेले पाउने सहमति जुटेको हो । एमालेले भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । दलहरूबीच जुटेको सहमतिअनुसार भण्डारीलाई अगाडि बढाएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘अन्य दलहरूले समिति सभापति लिने कुरा भएको छ,’ उनले भनिन् । सहमतिकै आधारमा उम्मेदवारी परेको अवस्थामा भण्डारी निर्विरोध निर्वाचित हुने देखिएको छ।