मन्त्री पुनको घोषणा- रातदिन काम गर्छु, तीन वर्षपछि युवालाई कुर्सी सुम्पिन्छु
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू बढीमा तीन वर्षमात्र मन्त्री पदमा रहने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पुनले देश विकासका लागि आफू दत्तचित्त भएर लाग्ने बताए । ‘द्रुत गतिमा रातदिन काम गर्ने हो,’ मन्त्री पुनले आफ्नो कार्ययोजना सुनाउँदै भने, ‘रातदिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । तीन वर्षपछि म मन्त्री हुँदिनँ ।’ उनले आफ्नो मुख्य उद्देश्य देशको प्राविधिक र नवप्रवर्तनको क्षेत्रमा बलियो जग बसाल्नु रहेको प्रष्ट पारे । आफूले आधार तयार गरेपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिने उल्लेख गर्दै उनले भने, ‘मन्त्रालयको जग बसालेर, यसलाई बलियो बनाएर नयाँ युवा भाइबहिनीहरूलाई अगाडि बढाउने हो ।’ नयाँ गठबन्धन सरकारको मन्त्रिपरिषद्को वरीयताक्रमअनुसार नवप्रवर्तनमन्त्री पुन आठौं स्थानमा रहेका छन् ।
एमालेले भन्यो– गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक
काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ । विपक्षी दलहरूको बैठकपछि मंगलवार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर शाहीले यस्तो टिप्पणी गरेका हुन् । उनले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताए । सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको उनको भनाइ छ । विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै महरले संसदीय छानबिनको माग दोहोर्‍याए । बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उनले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’ को संज्ञा दिए । विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन् । ४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’
४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’
काठमाडौं । विभिन्न विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङले जेठ २६ गते (मंगलबार) पुनः गृहमन्त्रालयको कमाण्ड सम्हालेका हुन् । गत वर्षको चैत १३ गते पहिलो पटक गृहमन्त्री बनेका गुरुङ सम्पत्ति विवरण, सेयर स्वामित्व र आर्थिक कारोबार लगायतका विषयमा विवादमा मुछिएका थिए । विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए । गुरुङको राजीनामालगत्तै सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले गुरुङको सम्पत्ति, सेयर स्वामित्व र समग्र आर्थिक कारोबारको विस्तृत अध्ययन गरेको थियो । समितिले गुरुङमाथि लागेका आरोपहरूमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले आरोपबाट मुक्त गरेकै आधारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पुनः मन्त्रीमण्डलमा समेट्दै गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । समितिको प्रतिवेदनकै आधारमा मन्त्री गुरुङले सफाइ पाएर मन्त्रालयमा कमब्याक गरे पनि उक्त छानबिन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले यसको पूर्ण विवरण र समितिको ठोस निष्कर्षबारे सर्वसाधारणमा अझै कौतुहलता कायम छ । पहिलो पटक मन्त्री बनेको २७ औं दिनमै गुरुङले राजीनामा दिएका थिए । पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङ त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाँचौँ स्थानमा परेका थिए । यद्यपि अहिले पनि उनी पाँचौं स्थानमै रहेका छन् । गत वर्षको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएका गुरुङ जेनजी आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिएका हुन् । उनी त्यसअघि उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष थिए । जेनजी आन्दोलनको पहिलो दिन उनले सञ्चारमाध्यममा ‘म स्वयंसेवकका रूपमा पानी बाँड्न आएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । गुरुङमाथि ‘फ्री तिब्बत’ अभियानसँग जोडिएका संस्थासँगको सहकार्य, ‘टीओबी’को आरोप पनि लाग्दै आएको थियो ।