काठमाडौं । दल त्याग गरेपछि ८ जना वडा अध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी- एमाले) बाट निर्वाचित ८ जना वडा अध्यक्षले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमालेको केन्द्रीय समितिबाट प्राप्त निर्णयका आधारमा सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको हो ।
आयोगका अनुसार जेठ २६ गते बसेको बैठकले ओखलढुङ्गाको मोलुङ गाउँपालिका-१ का वडा अध्यक्ष कमल बहादुर बानियाँ, मोलुङ-६ का वडा अध्यक्ष कमल तामाङ, चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेश कुमार थापा, पाल्पाको माथागढी गाउँपालिका-१ का वडा अध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका-७ का वडा अध्यक्ष होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका-४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, रंगेली नगरपालिका-१ का वडा अध्यक्ष महेश कुमार खनाल तथा दाङको घोराही उपमहानगरपालिका वडा अध्यक्ष मधुसुदन शर्माको पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको अवस्थामा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।