सिङ्गापुरको एक विमानस्थलद्धारा एक वर्षमा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा
सिङ्गापुर, १७ माघ । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन् । चाङ्गि विमानस्थलबाट आवागमन गर्ने यात्रु सङ्ख्याका हिसाबले चीन पाँचौँ स्थानमा रहेकोमा गतवर्ष चिनियाँ यात्रु सङख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ । यात्रु सङ्ख्याका हिसाबले चाङ्गि विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन् । त्यस्तै, यात्रु ब्यागेजबाहेक चाङ्गि विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ । सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशत भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख सत्तरी हजार मेट्रिक टन रहेको जनाइएको छ । चाङ्गि विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्ष भन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा चाङ्गि विमानस्थल समूहका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ्ग निकै उत्साहित छन् । चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूर पूर्वी एसियाका लामा लामा गन्तव्य तर्फ आवागमन गराउने प्रमुख केन्द्र ९हब० चाङ्गि विमानस्थललाई नै रोज्नाले यस विमानस्थलको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन् । अन्तर्राष्ट्रिय हवाई यातायात सम्बन्धी सन् २०१५ को तथ्याङ्कलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिङ्गापुरको चाङ्गि विमानस्थल छैठौंँ स्थानमा पर्छ । हाल यस विमानस्थलले तीन वटा अति विशाल टर्मिनल र अनगिन्ती धावनमार्गबाट सेवा उपलब्ध गराइरहेको छ । एउटा टर्मिनल निर्माणाधीन रहेकोमा चालु वर्षको मध्यतिर निर्माणकार्य सम्पन्न ईै चौँथो टर्मिनलबाट पनि सेवा प्रदान गरिने जनाइएको छ । रासस /सिन्ह्वा
हिमालय एयरलाइन्सले भित्र्यायो दोश्रो एयर बस, उडान छिट्टै
काठमाडौं । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफ्नो दोस्रो नयाँ विमान ए-३२० लाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ । हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९एन-एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा संकृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरीक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए । उक्त बहुप्रतिक्षित नयाँ एअरबस ए-३२० लाई स्वागत गर्न हिमालय एअरलाइन्सका विजय श्रेष्ठ, उपाध्यक्ष-प्रशासन, कप्तान जतिनदर पालसिहं ढिल्लन उपाध्यक्ष -अपरेशन लगायत कम्पनीका पदाधिकारीहरुको सहभागी थियो । यस एअरलाईन्सका प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले भने,“दोस्रो एअरवस ए-३२० को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्याधिक मेहनतका साथ प्रस्तुत हुनेछ ।” साथै, नेपाललाई नयाँ गन्तव्य सँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्ने श्रेष्ठले बताए । उनले स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एअरलाइन्स् तथा देशकै पर्यटन एंवहवाई उद्योगमा कोषे ढुङ्गा सवित भएको बताए । १५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नयाँविमान ए-३२०लाई दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्स दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमा उच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने कम्पनीले जनाएको छ ।
सनराइज बैंकको इलाम शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् । बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फागुन १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।