महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा, मूल्य २६ लाख रुपैयाँ मात्र

काठमाडौं, २६ पुस । अग्नि ग्रुप अन्तर्गतको भारतकै अग्रणी अटोमाबाइल उत्पादक कम्पनी महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा भित्रिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस कारको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ । यस कारमा डुअल एयरबैग, ए.बी.एस्., फास्ट चार्जिङ्ग तथा रियर वाइपर जस्ता विभिन्न आकर्षक विशेषताहरु रहेका छन । १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध रहको कम्पनीले जनाएको छ । लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेका छन् । महिन्द्रा इटुओ स्पोर्टजेड १०० किलोमिटर प्रति घण्टाको टप स्पिडदिन सक्षम रहेको कम्पनीले जनाएको छ । महिन्द्रा इटुओको अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले भने – “इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको पाएको छु । त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन् । त्यसैले यस बदलावलाई अझै गती दिन हामीले नेपालमा पनि महिन्द्रा इटुओ को अनावरण गरेका हौं र यस गाडीको शक्तिशाली पर्फमेन्स, बेजोड् सेफ्टी फिचर्स्का साथ यो छिट्टै नै ग्राहकहरु माझ लोकप्रिय हुने कुरामा म विश्वस्त छु । इलेक्ट्रिक गाडीहरुको पायनियरको रुपमा हामी सफा र स्वच्छ भविष्य बनाउन इलेक्ट्रिक भेहिकलहरु धेरै भन्दा धेरै सुलभ बनाउन प्रतिबद्ध छौं ।”

सनराइज बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केटस् एक्विजिसन गर्ने

काठमाडौं, २५ पुस । सनराइज बैंक लिमिटेडको विशेष साधारणसभाले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारणसभाले बैंकको सो निर्णय गरेको हो । सभामा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । विशेष साधारण सभाबाट प्राप्ती (एक्विजिशन) प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरिने बैंकले जनाएको छ ।

पोखरामा टेलिकमको एमएसएजी एक्सचेञ्ज सञ्चालनमा, एक्सचेञ्जको क्षमता ७३६ लाइन

काठमाडौं, २४ पुस । नेपाल टेलिकमद्धारा पोखराको छिनेडाँडामा एमएसएजी एक्सचेञ्ज सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार मन्त्री सुरेन्दकुमार कार्कीले आइतबार उक्त एक्सचेञ्जको उद्घाटन गरेका छन् । उनले पुम्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन् । सो अवसरमा कार्कीले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल टेलिकमसँग बलियो पुर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताएका छन् । सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिएका छन् । साथै, उनले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताए । उनले पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताएका छन् । उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन् । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा पचास रुपैयाँ बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिएकी छन् । उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको जानकारी दिएका छन् । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा फ्याक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी दिएका छन् । उक्त अवसरमा सो क्षेत्रका सभासद शारदा पौडेल, कम्पनी प्रमुख ब्यावसायिक अधिकृत प्रदीप राज उपाध्याय, स्थानीय वासिन्दा, व्यवसायी, समाजसेवी लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।