लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर)

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको सेतो संरचना शान्त पोखरीको किनारमा झल्किरहेको देखिन्छ । अनन्त शान्तिको ज्वाला निरन्तर बलिरहेको छ । जसले वरपरको वातावरणलाई झन् रहस्यमय र आध्यात्मिक बनाउँछ । अन्तर्राष्ट्रिय मठ क्षेत्रहरूमा विभिन्न देशका भव्य मठहरू चिटिक्क परेका छन् । थाई, चिनियाँ, जापानी र जर्मन मठहरूको रंगीन वास्तुकला र सुन्दर बगैंचाहरूले लुम्बिनीलाई विश्व शान्तिको प्रतिक बनाएका छन् । सारस क्रेनहरूको बासस्थान बनेको सिमसार क्षेत्रमा पंक्षीहरूको कलरव र पर्यटकहरूको मन्द गतिले यहाँको वातावरणलाई अझ रमणीय बनाएको छ । यहाँको चौडा पदमार्गहरू, फुल्दै गरेका फूलहरू र शान्त पोखरीहरूले हरेक आगन्तुकलाई बुद्धको शान्त सन्देशको अनुभुति गराउँछन् । लुम्बिनीको यो अहिलेको सुन्दरता साँच्चै अवर्णनीय छ । अनि शान्ति र सौन्दर्यको पर्याय छ ।   

जैविक तटबन्धले जोगियो बस्ती (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । कारण नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध । समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ । जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीब्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु ।  

झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं । लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा स्नान गरिरहेजस्तै देखिएको छ । सोमबार साँझदेखि नै सहरका मुख्य चोकहरू, व्यापारिक केन्द्रहरू र आवासीय क्षेत्रहरू रंगीचंगी बत्तीहरूले सजिएपछि काठमाडौं साँच्चिकै झिलिमिली सहर बनेको छ । सुन्धारा, न्यूरोड, जमल लगायत चक्रपथका प्रमुख चोकहरू बत्तीको आकर्षक सजावटले झकिझकाउ छन् । निजी मल, शपिङ कम्प्लेक्सहरू, रेस्टुरेन्टदेखि घर आँगनसम्म बेहुलीझै सिंगारिएका छन् । लक्ष्मीपूजाको रात साथीभाइ भेला भई भैलिनी खेल्दै झनै रमाइलो थपिएको छ । तिहारका दिनहरूमा मात्र होइन, पूरै सप्ताह काठमाडौंको रूप र रंग फरक देखिन्छ । व्यापारिक भवन, कार्यालय र घरहरूमा राखिएका बत्तीहरू तिहार सकिएपछि पनि हटाइँदैनन्, जसले गर्दा झिलिमिली काठमाडौंको सौन्दर्य अझ केही दिनसम्म कायमै रहन्छ । बर्षेनी झिलिमिली बत्ती राख्ने चलन काठमाडौंमा बढ्दो क्रममा छ । हिजोआज पूरै घर झकिझकाउ बनाएर तिहार नमनाउने कमै भेटिन्छ । यही कारण तिहार अब केवल धार्मिक पर्व मात्र नभई काठमाडौंको सांस्कृतिक झिलिमिली उत्सवझै भएको छ । तस्बिरहरू: