नेपाल एसबिआईको २९ प्रतिशत लाभांश पारित, ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित २९ दशमब ५३ प्रतिशत लाभांश पारित भएको छ । उक्त बैंकको प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । साथै, सभाबाट पारित भए बमोजिम बैंकले १० बराबर ४ को अनुपात (४० प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जुन रकमका आधारमा एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी पश्चात संस्थापक सेयरधनीको सेयर स्वामित्व ७० र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३० कायम हुने बैंकले जनाएको छ । साथै, उक्त सभाले बैंकको आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित पनि पारित गरेको छ । सोही अवधिमा बैंकले २४१ करोड ६१ लाख रुपैयाँ संचालन मुनाफा र १३३ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यस्तै, उक्त सधारणसभाले आ.ब. २०७३/७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।

नेपाल टेलिकमको १३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अस्पताललाई सहयोग

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरिएको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा विरामीहरुका लागि सय/सय थान कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा सेवाग्राहीहरुका लागि एक/एक थान मोबाइल चार्जिङ स्टेसन समेत उपलब्ध गराइएको छ । उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, नायब प्रबन्ध निर्देशकहरु, निर्देशकहरु र अन्य अधिकृतहरुका साथै कम्पनीमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो । प्रबन्ध निर्देशक राजभण्डारीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा यस प्रकारको सहयोग गरेको र यसबाट अस्पतालका सेवाग्राहीलाई केही मात्रामा भए पनि सहयोग पुग्ने अपेक्षा गरेको बताइन् । सो सहयोगका लागि सम्बद्ध अस्पताल व्यवस्थापनले नेपाल टेलिकमलाई धन्यवाद प्रदान गर्नुका साथै आगामी दिनमा समेत यस्तो सहयोगको निरन्तरताको अपेक्षा गरेको छ । साथै, नेपाल टेलिकमले आगामी शनिबार (२०७३ माघ २२ गते) १३औँ वार्षिकोत्सव मनाउँदै छ ।

सिङ्गापुरको एक विमानस्थलद्धारा एक वर्षमा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा

सिङ्गापुर, १७ माघ । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक ५ करोड ८७  लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन् । चाङ्गि विमानस्थलबाट आवागमन गर्ने यात्रु सङ्ख्याका हिसाबले चीन पाँचौँ स्थानमा रहेकोमा गतवर्ष चिनियाँ यात्रु सङख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ । यात्रु सङ्ख्याका हिसाबले चाङ्गि विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन् । त्यस्तै, यात्रु ब्यागेजबाहेक चाङ्गि विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ । सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशत भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख सत्तरी हजार मेट्रिक टन रहेको जनाइएको छ । चाङ्गि विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्ष भन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा चाङ्गि विमानस्थल समूहका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ्ग निकै उत्साहित छन् । चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूर पूर्वी एसियाका लामा लामा गन्तव्य तर्फ आवागमन गराउने प्रमुख केन्द्र ९हब० चाङ्गि विमानस्थललाई नै रोज्नाले यस विमानस्थलको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन् । अन्तर्राष्ट्रिय हवाई यातायात सम्बन्धी सन् २०१५ को तथ्याङ्कलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिङ्गापुरको चाङ्गि विमानस्थल छैठौंँ स्थानमा पर्छ । हाल यस विमानस्थलले तीन वटा अति विशाल टर्मिनल र अनगिन्ती धावनमार्गबाट सेवा उपलब्ध गराइरहेको छ । एउटा टर्मिनल निर्माणाधीन रहेकोमा चालु वर्षको मध्यतिर निर्माणकार्य सम्पन्न ईै चौँथो टर्मिनलबाट पनि सेवा प्रदान गरिने जनाइएको छ । रासस /सिन्ह्वा