चौधरी ग्रुपको मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा
काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो । चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ । विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको ग्रुपले जनाएको छ । ‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो ।’ पत्रिकाले भनेको छ – ‘यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन् । कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन् । कुनै चाँहि अति विशिष्ट स्थानमा रहेका छन् । यी सबैले विश्वभरका होटल उद्योगका लागि उत्कृष्टताको सन्देश दिएका छन् ।’ ‘हाम्रो लागि यो महत्वपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं । यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ ।’ चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोर्टस्का प्रबन्ध निर्देशक राहुल चौधरीले भने – ‘सिजी होटल्स एण्ड रिसोर्टस्का विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन् । ताजसँगको साझेदारी हाम्रा लागि विशेष महत्वको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन् ।’ ‘मेघौली सराइ ट्राभल एण्ड लिजरको यो सूचीमा पर्नाले विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास हामीले लिएका छौं,’ चौधरीले बताए । मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ । यहाँ ६८ प्रजातिका स्तनधारी जन्तु, ५४४ प्रजातिका चरा, १२६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ । त्यस्तै यहाँ बीसहजारी तालको रामसार क्षेत्र पनि रहेको छ । ‘यो ताज सफारी लज विशिष्ट स्थानमा रहेको छ । यहाँबाट गैंडा अवलोकन सजिलै गर्न सकिन्छ । हात्ती सफारी, निजी स्विमिङ्ग पुल (प्लन्ज पुल), अल्फ्रेस्को मसाज, थारु भोजन जस्ता विशेषता यसका पहिचान हुन्,’ पत्रिकाले जनाएको छ ।
“शिक्षाका लागि टेस्ट ड्राइभ” अभियानमा १० हजार जना सहभागी, २४ विद्यालयलार्इ ५० लाख सहयोग
काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गले टेस्ट ड्राइभ गर्न व्यक्तिहरुबाट संकलन गरिएको ५० लाख ३६ हजार रुपैयाँ विभिन्न २४ वटा स्कूललाई वितरण गरेको छ । सो रकम सम्बन्धीत विद्यालयले विपन्न विद्यार्थीहरुका लागि छात्रावृत्तिमा खर्च गरिने भएको छ । सिप्रदीका अनुसार यस अभियानमा १० हजार ७२ जना सहभागि भएका थिए । टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुमा टेस्ट ड्राइभ गरेबाफत प्रतिव्यक्ति ५०० रुपैयाँ संकलन गरिएको थियो । कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो । ‘‘शिक्षाका लागि टेस्ट ड्राइभ” अभियान कार्यक्रम समापन गर्दै कम्पनीले स्कूलहरुलाई रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् । उक्त समापन कार्यक्रममा माननीय शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक र मायाकाे चिनाे हस्तान्तरण गरेका थिए । विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए ।साथै उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्स, स्कूल, विद्यार्थी, अभिभावकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । यसैक्रममा टाटा मोटर्स्, पि.भि.आई.बि. नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको जनाउँद यस्तो अवस्थामा उनीहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए । सेप्टेम्बर १०, २०१६ बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । ५ महिना अवधिसम्म चलेको उक्त अभियानमा सहभागी भएर टेस्ट ड्राइभ गर्ने अभिभावकहरुले टाटा र सिप्रदीको सामाजिक उत्तरदायित्वको यस विशेष पहलबारे खुलेर प्रशंसा गरेको कम्पनीले जनाएको छ ।
राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै
राष्ट्रिय फूटबल टिमका कप्तान अनिल गुरुङ र कमल श्रेष्ठ आफ्नो प्रशन्सकहरुसंग कोका-कोला मो:मोत्सव मनाउदै | राष्ट्रिय फूटबल टिमलाई समर्थन गर्दै कोका-कोला मो:मोत्सव आफ्नो नजिकको रेस्टुरेन्टमा मनाउन सकिने कम्पनीले जनाएकाे छ ।