मेघा लुब्रिकेन्टसका उत्कृष्ट ७ डिलर इन्डोनेशियाको बालीमा
काठमाडौं । पूर्वाञ्चल ल्युब आयल (पीएलओ) बाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट ७ डिलरलाई इन्डोनेशियाको बाली भ्रमणमा लगेको छ । मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्नेछ । पूर्व घोषणाअनुसार मेगाले देशभर उत्कृष्ट कारोबार गर्ने आफ्ना डिलरलाई यो भ्रमणमा सहभागी गराएको हो । उच्च बजार हिस्सा ओगट्नेगरि प्रवद्र्धनमा जुटिरहेको मेगाले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफुमातहत रहने दाबी गरेको छ । यसअघि पनि पीएलओले मलेसिया, थाईल्याण्ड, इन्डोनेशिया र सिंगापूरलगायत मुलुकमा डिलरमिट र भ्रमण गरिसकेको दुलालले जानकारी दिए ।
नेपाल विद्युत्त प्राधिकरणका निर्देशक कूलमान घिसिङलाई सम्मान
उपप्रधान तथा गृहमन्त्री विमेलन्द्र निधी भौतिक पूर्वाधार सम्मेलन, २०१७ मा आयोजित कार्यक्रममा नेपाल विद्युत्त प्राधिकरणका निर्देशक कूलमान घिसिङलाई सम्मान गर्दै ।
चौधरी ग्रुपको मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा
काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो । चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ । विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको ग्रुपले जनाएको छ । ‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो ।’ पत्रिकाले भनेको छ – ‘यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन् । कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन् । कुनै चाँहि अति विशिष्ट स्थानमा रहेका छन् । यी सबैले विश्वभरका होटल उद्योगका लागि उत्कृष्टताको सन्देश दिएका छन् ।’ ‘हाम्रो लागि यो महत्वपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं । यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ ।’ चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोर्टस्का प्रबन्ध निर्देशक राहुल चौधरीले भने – ‘सिजी होटल्स एण्ड रिसोर्टस्का विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन् । ताजसँगको साझेदारी हाम्रा लागि विशेष महत्वको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन् ।’ ‘मेघौली सराइ ट्राभल एण्ड लिजरको यो सूचीमा पर्नाले विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास हामीले लिएका छौं,’ चौधरीले बताए । मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ । यहाँ ६८ प्रजातिका स्तनधारी जन्तु, ५४४ प्रजातिका चरा, १२६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ । त्यस्तै यहाँ बीसहजारी तालको रामसार क्षेत्र पनि रहेको छ । ‘यो ताज सफारी लज विशिष्ट स्थानमा रहेको छ । यहाँबाट गैंडा अवलोकन सजिलै गर्न सकिन्छ । हात्ती सफारी, निजी स्विमिङ्ग पुल (प्लन्ज पुल), अल्फ्रेस्को मसाज, थारु भोजन जस्ता विशेषता यसका पहिचान हुन्,’ पत्रिकाले जनाएको छ ।