अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज(बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुई जना सञ्चालक पौडेल र सुवेदी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने छन् । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालय, १० बीमा काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन गरि खुद नाफा ४ करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमाकोषमा ६ करोड २३ लाख रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत, एवं बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

अजोड इन्स्यारेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल

काठमाडौं । अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन् । बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।

सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले वि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र वि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए । उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड, कर्जा ३१ अर्ब १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्ब ८९ करोड, कर्जा ८१ अर्ब ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ ।