बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । सीईओ पन्तको कार्यकाल भदौ १ गतेदेखि नै सकिने भएको छ । यससँगै, नवनियुक्त कामु सीईओ मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।

ग्लोबल आइएमई बैंकको डीसीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौदेखि लागू हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी भदौ १ गतेदेखि लागू हुने गरी डीसीईओमा बढुवा भएका हुन् । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण हुन् । रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

एशियन लाईफ इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १२औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट दिपककुमार श्रेष्ठ, सुरेन्द्रकुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित भएका छन् । साधारण सेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा र सजल मास्के निर्वाचित भएका छन् । यससँगै उनीहरुले आगामी ४ वर्षसम्म कम्पनीको सञ्चालक समिति सदस्य पदको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीको १२औं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा साउन ३१ गते आइतबार सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेका आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ । कम्पनीले २०६४ साल चैत २१ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । गत असार मसान्तसम्ममा कम्पनीको २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख रुपैयाँ लगानी तथा कर्जामा रहेकोे छ । त्यसैगरी, कम्पनीले यो अवधिसम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिसकेको छ । कम्पनीले हाल ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पुर्याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।