अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर
काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास पाएपछि उनले राजश्व सचिव बन्ने अवसर पाएका हुन् । उनी एक महिना अगाडि मात्रै सचिवमा बढुवा भएका थिए ।
कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा धिताल नियुक्त
काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका हुन् । सरकारबाट नियुक्ती पत्र पाएपछि आजै (शुक्रबार) बाटै निमित्त प्रशासकको जिम्मेवारी सम्हालेको धितालले विकासन्युजलाई बताए । यसअघि कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई बर्खास्त गरसँगै उनलाई सरकारले निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । विगत १२ वर्षदेखि सञ्चय कोषमा कार्यरत धिताल विभिन्न क्षेत्रमा पनि संलग्न छन् । उनी पेशाले चाटर्ड एकाउण्टेन्ट हुन् । उनी हाल कोषको तर्फबाट बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा पनि छन् । विभिन्न जलविद्युत कम्पनीमा पनि उनको लगानी छ । सरकारले उनलाई निमित्त प्रशासकमा नियुक्त गरेसँगै केही समयपछि उनलाई नै प्रमुख प्रशासककै जिम्मेवारी दिने तयारी रहेको पनि स्रोतको भनाई छ ।
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल, आजै लिए शपथ
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । भदौ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । उनी अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भइ आएका हुन् । यससँगै, नवनियुक्त अध्यक्ष अर्यालले नियुक्त भएकै दिन आफ्नो पदको शपथ लिएका छन् । उनले भदौ १० गते नै राष्ट्र बैंकका अध्यक्ष महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे । साथै, नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । साथै, उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम शर्मा ढुंगाना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल बैंकका सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा., विष्णुकुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराए । साथै, उक्त कार्यक्रममा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति थियो ।