फेरि ब्युँतियो भूमि आयोग, निरौला बने अध्यक्ष
काठमाडौं । सरकारले एक महिना अगाडि मात्रै खारेज गरेको भूमी आयोग पुनः ब्युँतिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमी आयोग खारेज गरेर पुनः गठन गरेको हो । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।
निरज गिरीले पाए धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीलाई दिइएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले निमित्तको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् । मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । सरकारले सवोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका बोर्ड अध्यक्ष ढुङ्गानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । यससँगै उनीमाथि छानविन गर्न समिति गठन गरी हाल छानविन गरिरहेको छ ।
सिद्धार्थ क्यापिटलको सीईओमा चन्दन कार्की
काठमाडौं । सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्दन कार्की नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कार्कीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कार्कीले भदौ २७ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।