एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. केसी नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त पदमा डा. निर्मल कुमार बिष्ट रहेका थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको कम्पनीले सचिव सुरेश चापागाईंले जानकारी गराए ।
जनउत्थान सामुदायिक लघुवित्तका सीईओ पोख्रेलले पाए निरन्तरता
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । सीईओ पोख्रेलले दोश्रो कार्यकालको लागि निरन्तरता पाएका हुन् । माघ २६ गते साझा ५ बजे बसेको सञ्चालक समितिको बैठकले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । यससँगै पहिलो कार्यकाल सफलतापूर्वक बिताएका पोख्रेलले २०८० माघ २७ गतेसम्म अर्को कार्यकाल सम्हाल्ने भएका छन् ।
कार्यभार सम्हाल्दै नेप्सेका सीईओ कार्कीले भने- बजारको लागि सकारात्मक भूमिका खेल्छु
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यभार सम्हालेका छन् । सीईओ कार्कीले माघ २६ गते बुधबार पदबहाली गरी आफ्नो कार्यभार सम्हालेका हुन् । उनले नेप्सेका सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यससँगै उनले आगामी ४ वर्षसम्म नेप्सेको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि गत सोमबार नै कार्यभार सम्हाल्ने तयारीमा रहेका कार्कीले आफ्नो व्यक्तिगत कामले गर्दा केही ढिला भएको बताएका छन् । आफ्नो पदभार ग्रहण गर्दै सीईओ कार्कीले आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्स्चेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्न सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् । पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् । ‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने । साथै, कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनी बताउँछन् । ‘पहिला कार्यभार सम्हालौं, त्यसपछि संस्थाका व्यवस्थापकीय टीमहरुसँग बसेर थप अध्ययन अनुसन्धान गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्य छ,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘अब कार्यभार सम्हालेको २/३ हप्ताभित्र आफ्नो योजना सार्वजनिक गर्ने छु ।’ अहिले बाहिरी दृष्टिकोणले हेर्दा नेप्सेमा केही नीतिगत स्वार्थ, केही संरचनागत संस्थाका कुराहरु छन्, कार्यक्षेत्र विकास लगायत ब्रोकरको पूर्वाधार विकासमा केही सुधार गर्नुपर्ने देखिएको उनको भनाई छ । जसलाई सुधार गर्न आफ्नो प्रयास जारी रहने र त्यसमा सबैको साथ सहयोग पाइनेमा उनी विश्वस्त छन् । सम्बन्धित समाचारः नेप्सेका नवनियुक्त सीईओ भन्छन्ः तीन कार्ययोजना बनाएर अघि बढ्छु