प्राइम लाइफ इन्स्योरेन्समा कामु प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तमा सकिएको छ । साउन १ देखि लागू हुने गरी दाहालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबीच मर्जरको प्रक्रिया चलिरहेको छ । मर्जपछि कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भन्ने विषयमा सहमति भइनसेको बताइएको छ । मर्जपछि दाहालसँगै यूनियन लाइफका मनोज कुमार लाल कर्ण, गुराँस लाइफका विपिन कुमार लालको सीईओमा दावी रहने छ । तर तीन वटै कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्दा बाहिर गएर प्राइम लाइफका निवर्तमान सीईओ भट्टराईकै पुनः नियुक्ती हुने सक्ने अनुमान पनि धेरैले गरेका छन् ।

कामना सेवा विकास बैंकको डीसीईओमा विनय दाहाल, बैंकिङ्ग क्षेत्रमा ३ दशक अनुभव

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ दाहालसँग बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य गरेको अनुभव छ । विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएका दाहालले पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ

काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् । इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् । त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो । यो पनि पढ्नुहोस् लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित