सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ अनुभव
काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले अब बुधबारदेखि डीसीईओको कार्यभार सम्हाल्ने छन् । नेपाल बंगलादेश बैंकबाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै, उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको कदर गर्दै उनलाई डीसीईओको कार्यभार सुम्पिएको बताएका छन् ।
फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त
काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउसमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् । राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत साथा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा थापा संलग्न हुँदै आएका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थापासँग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट’ क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ । फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजारभन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
राष्ट्र बैंकका सञ्चालक शिवाकोटी र डा. आचार्यले लिए सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायमकुकायम प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई शथप ग्रहण गराए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी राष्ट्र बैंककाे पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन् । सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैंकको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह– रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीहरूको उपस्थिति थियो ।