नबिल बैंकको सीईओ बने ढुङ्गाना, पाण्डेसहित चार जना डीसीईओ, एनबीका कर्मचारीको तह घट्ने

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन् । गत शनिबार बसेको दुवै बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी पाएको थियो । सोही सभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पनि पारित गरेको हो । एनबी बैंक स्रोतका अनुसार ढुङ्गाना आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । नबिल बैंकका हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि उनी सीईओ बन्नेछन् । अहिले दुबै बैंकलाई एकआपसमा गाभ्न/गाभिनका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । एनबी बैंक स्रोतका अनुसार सीईओ ढुङ्गाना भएसँगै सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । तर, अहिले नै डीसीईओको विषय भने टुङ्गिनसकेको स्रोतको भनाइ छ । यस्तै, एनबी बैंकका कर्मचारीहरूको तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । यस्तो बन्नेछ बैंक एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ । हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ । हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआइजी राजु अर्याल महानिरीक्षक र अर्का एआइजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त थियो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।

मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल, उच्च प्रतिफल दिनेमा जोड

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । यसअघि पनि बैंकको सीईओका रूपमा कार्यरत  पोखरेलको पहिलो कार्यकाल सकिएसँगै पुनः सोही बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको पोखरेलले बताए । बैंकिङ्ग क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका थिए । उनी २०७६ जेठ १ गते बैंकको सीईओमा नियुक्त भएका थिए । सीईओमा पुनः दोहिरिएसँगै पोखरेलले मुक्तिनाथ विकासको विकासका लागि फरक योजना र रणनीतिका साथ अगाडि बढ्ने बताए । ‘विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक एक फरक छवि बनाएको बैंकको रुपमा परिचित छ, अब हामी राष्ट्र बैंकको नीति नियम पालना गर्नेमा उत्कृष्ट बैंकका रुपमा चिनिनेछौं, सेयरधनीहरुलाई जतिसक्दो बढी प्रतिफल दिनेमा पनि हाम्रो जोड हुनेछ,’ उनले विकासन्युजसँग भने । पोखरेलको पहिलो कार्यकालमा मुक्तिनाथ विकास बैंकका अधिकांश सूचकहरु उत्कृष्ट पनि देखिएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा सुरु गरेका थिए । उनले नबिल बैंकमा करिब १९ वर्ष विभिन्न विभागहरुको नेतृत्व समेत गरेका थिए । उनीसँग मेगा बैंकमा पनि काम गरेको अनुभव छ । उनी डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष पनि हुन् ।