एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

काठमाडौं । एनआईसी एशिया लघुवित्त अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । माघ २ गते बसेको सञ्चालक समितिले सञ्चालक पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसअघि संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी थिए । उनले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो । राठी एनआईसी एशिया बैंकबाट प्रतिनिधित्व गर्दै आएका थिए । अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनानन्सिङमा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशका रुपन्देहीका नवनियुक्त सञ्चालक श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइटेल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार सेवामा सीईओमा नियुक्त भएका हुन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए । भारतको पुनेबाट एमबीए गरेका लुइटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइटेलले नेपालका पुँजी बजारको बारेमा विशेष दखल राख्छन् ।