सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा सुवेदी नियुक्त
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नबिन सुवेदी नियुक्त भएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक आपसमा गाभिएर ७ जिल्ला कायम भई सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको जनाइएको छ । सञ्चालक समितिको बैठकले तत्कालीन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत सुवेदीलाई नै असार २२ गतेदेखि ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए । दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका उनको नियुक्ति पछि बैंकले आगामी दिनमा कर्जा व्यवसाय र जोखिम व्यवस्थापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।
सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त
काठमाडौँ । सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २२ गते बसेको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेशकुमार मल्किकले जनाएका छन् । सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।