नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित
काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका छन् । जसमध्ये प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् भने दोश्रो उपाध्यक्षमा आईएमई समूहका सीईओ सुमन पोखरेल निर्वाचित भएका छन् । नवनिर्वाचित प्रथम उपाध्यक्ष मिश्र संस्थागत सदस्यबाट निर्वाचित भएका हुन् भने दोश्रो उपाध्यक्ष पोखरेल व्यक्तिगततर्फबाट सदस्यमा निर्वाचित भएका म्यानले जानकारी दिएको छ ।
यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा अमलान मुखर्जी
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशक(एमडी)मा अमलान मुखर्जी नियुक्त भएका छन् । माघ २४ गते(फेब्रुअरी ७) बसेको कम्पनी सञ्चालक समितिको बैठकले मुखर्जीलाई कम्पनीको एमडी पदमा नियुक्त गरेको हो । नवनियुक्त एमडी मुखर्जीले आगामी फागुन १८ गते(मार्च १)देखि आफ्नो पदको जिम्मेवार सम्हाल्ने छन् । हाल कम्पनीको एमडी पदको जिम्मेवार आशिष राईले सम्हालिरहेका छन् । उनले आगामी फागुन १७ गतेदेखि (फेब्रुअरी २९) लागू हुने गरी उक्त पदबाट राजिनामा दिँदै छन् । त्यसपछि रिक्त हुने कम्पनीको एमडी पदमा अमलान मुखर्जी नियुक्त गरिएको कम्पनीले बताएको छ ।
युलेन्स एजुकेशन फाउण्डेसनको सीईओमा डा.पाँडे नियुक्त
काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि फाउण्डेसनले डा. पाँडेलाई उक्त पदमा नियुक्त गरेको हो । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु अघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञका रुपमा कार्यरत थिए । उनले फेब्रुअरी १, २०२० का दिनदेखि युलेन्स एजुकेशन फाउण्डेसनको नयाँ जिम्मेवारी ग्रहण गरेका हुन् । साथै, उनले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै े विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशाधन विषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधी उपाधि हासिल गरेका छन् । सन् २००६ मा ब्यारोन गाइ युलेन्स र मिरीयम युलेन्सको संरक्षकत्वमा गैर नाफामूलक संस्थाका रुपमा स्थापित युलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । फाउन्डेसनले अमेरिकाको न्यूयोर्क स्थित बैंक स्ट्रीट कलेज अफ एजुकेशनको शैलीमा एक्काईसौँ सताब्दी सुहाँउदो व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ । फाउन्डेसनले हाल ललितपूरको जावलाखेलमा युलेन्स किन्डरगार्डेन तथा खुमलटारमा कक्षा एकदेखिमाध्यमिक शिक्षासम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माध्यमिक तहमा नेपाल सरकारको माध्यमिक शिक्षा कार्यक्रम तथा इन्टरनेशनल ब्याकलरेट डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति र स्वीट्जरल्याण्डको जेनेभा स्थित आइबीओ बोर्डद्धारा आधिकारीक मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको यस डिप्लोमा कार्यक्रमले समय सापेक्ष शैक्षिक कार्यक्रमहरु मार्फत १६ देखि १९ वर्ष उमेर समूहका युवा अवस्थाका विद्याथीहरुलाई अनुसन्धानात्मक ज्ञान आर्जन गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपालको शिक्षाको स्तर उकास्ने उद्देश्यले फाउन्डेसनले निकट भविष्यमा खुमलटार, ललितपूरमा विश्वस्तरीय सुविधायुक्त शिक्षक तालीम केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । साथै काभ्रेपलान्चोक जिल्लाको नालामा आगामि केही वर्ष भित्रमा स्नातक तहको उदार कला (लिबरल आर्टस्) कलेज सञ्चालन गर्ने लक्ष्य राखेको छ ।