नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल, सदस्यमा १८ जना सर्वसम्मत चयन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिएका छन् । अध्यक्षमा दुलालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अर्का अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठनकाे वरिष्ठ उपाध्यक्ष रहेका दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा भने पुस ४ गते हुने नाडाको साधारणसभाबाट घोषणा हुनेछ । साथै, नाडाका सर्वसम्मत सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलन बाबु मल्ल, दीपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् । जिल्ला सदस्यहरु ध्रुव बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल सर्वसम्मत सदस्यहरु चयन भएका छन् ।

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त

काठमाडौं । बाग्लुङस्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले मंसिर २५ गतेबाट लागु हुने गरि जोशीलाई सो पदमा नियुक्त गरेको हो । २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।

एनआईसी एशिया लघुवित्त सञ्चालक समितिको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालक समितिकाे अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । संस्थाको ३९औं सञ्चालक समितिको बैठकले  ढकाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । साथै,  ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । अध्यक्ष ढकालसँग आइसिआइसिआइ बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलोइटमा कार्य गरेको र उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव छ । ढकालले सो दिन नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनियालगायतको उपस्थिति रहेको थियो ।