प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला, बीमा क्षेत्रमा ४ दशकको अनुभव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउँछ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि तिमिलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो । तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिव ६ महिनाको कुलिङ पिरियडपछि उनी प्रिमियरमा प्रवेश गरेका हुन् । उनले बीमा क्षेत्रमा करिब ४ दशक बिताएका छन् । ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष काम गरेका तिमिलाले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका छन् । उनीसँग बीमा कम्पनीको फाइनान्स, अन्डरराइटिङ, मार्केटिकङलगायत सबै विभागमा काम गरेको अनुभव छ ।

करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उपाध्यक्षमा चयन भएसँगै चौधरीले भने- ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु । ’ नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । हालै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।

नेपाल पुनर्बिमा कम्पनीको सीईओमा शंकरकुमार रायमाझी नियुक्त

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रायमाझीले आगामी चार वर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । उक्त सीईओ पदमा ६ जनाको आवेदन परेको थियो जसमध्ये २ जना पहिलो चरणबाटै बाहिरिएका थिए । बाँकी ४ मध्येमा रायमाझीलाई नियुक्त गरिएको हो । कम्पनीको सीईओ पदको लागि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, नबिल बैकका पूर्व व्यवस्थापक ज्ञानेश्वर आचार्य, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य र युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल र नेपाल पुनर्बिमा कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारीले आवेदन दिएका थिए ।