नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा चान्दना चयन, गभर्नरबाट लिए शपथ

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना सर्वसम्मतिबाट चयन भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधित्व गर्दै आएका सञ्चालक चान्दनालाई बैंकको ५४८औँ बैठकले सोमबार अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  चान्दना हाल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह-२ मा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको पूर्वी तथा दक्षिण एसिया, सिङ्गापुर, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन र विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरूको रणनीतिक नेतृत्व सम्हाल्दै आएका छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू राम पौडेल र दीर्घ बहादुर रावल, निर्देशक शरण कुमार अधिकारीका साथै एसबीआई भारतका उप-प्रबन्ध निर्देशक किशोर कुमार पोलदासको उपस्थिति रहेको थियो ।  त्यसैगरी बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य र कम्पनी सचिव खगेश्वर भट्टलगायतका पदाधिकारीहरूको सहभागिता थियो ।

अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा

काठमाडौं । अदालतको आदेशलगत्तै पत्रकार किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन् । उनलाई सोमबार अदालतले रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले हिरासतमा रहँदा आफूलाई कानुन व्यवसायीहरूसँग समेत भेट्न नदिइएको गुनासो गरे । उनले राज्यका यस्ता कदमको सुरुवात मात्र भएको र भविष्यमा अन्य व्यक्तिहरूमाथि पनि यस्तै व्यवहार हुन सक्ने आशंका व्यक्त गरे । आफूले देखेको र सत्य तथ्य समाचार लेखेकै कारण विगतमा पनि सत्ताको ज्यादती बेहोर्नुपरेको स्मरण गराउँदै उनले आफू कहिल्यै नहार्ने बताए । ‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन्, तर मैले हारेको छैन र हार्दिनँ । म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ उनले भने । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक गरेदेखि नै केही पक्षहरू आफूसँग असन्तुष्ट बनेको उनको दाबी थियो । पत्रकार श्रेष्ठले कानुन हातमा लिएर राज्यका संयन्त्रहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी समेत दिए ।

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच ’कनेक्टेड भेइकल’ सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।  सोमबार एक कार्यक्रमका बीच यी दुई कम्पनीले साझेदारी गरेका हुन् । यस सहकार्यसँगै अब नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स सिम जडान गरिनेछ ।  यस आईओटी प्रविधिको प्रयोगले चालक तथा यात्रुहरूलाई कुनै बाह्य उपकरण, वाई-फाई हटस्पट वा मोबाइल डेटामा निर्भर नभई गाडीकै सिस्टमबाट सीधा इन-भेइकल इन्टरनेट कनेक्टिभिटी प्राप्त हुनेछ । यसबाट बीवाईडी एप इकोसिस्टम, युट्युब, स्पोटिफाइ, काराओके जस्ता इन्फोटेनमेन्ट सेवा र भरपर्दो नेभिगेसन सहजै प्रयोग गर्न सकिनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटी थप्दै ग्राहकलाई डिजिटल अनुभव प्रदान गर्ने बताए ।  त्यसैगरी, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भरपर्दो इन–भेइकल कनेक्टिभिटीले ग्राहकहरूलाई बीवाईडीका आधुनिक सुविधाहरूको पूर्ण उपभोग गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  यो सुविधा नयाँ गाडी खरिदकर्ताका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध हुनेछ । पुराना ग्राहकहरूले देशभरका १३ आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर एनसेलको आईओटी सिम जडान गरी यो सेवा लिन सक्नेछन् ।  यद्यपि, उपलब्ध सुविधाहरू, डेटा प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधनको मोडल र सेवा प्याकेज अनुसार फरक पर्न सक्नेछ ।