नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा
काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैलाई नगरपालिका वडा नं ११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
बालबालिकासँग खुसी साट्दै स्वास्थ्य संस्था सञ्चालक संघ
काठमाडौं । स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले आफ्नो स्थापना दिवस बालबालिकासँग खुसी साट्दै मनाएको छ । संघले कागेश्वरी मनोहरा–स्थित सिर्जनशील बाल सेवा परिवारमा रहेका बालबालिकालाई भोजन गराएर आफ्नो वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल नयाँ संस्था भए पनि छोटो समयमै व्यवसायीका समस्या र सरोकारलाई राज्यका सम्बन्धित निकायसम्म पुर्याउन सफल भएको बताए । उनले संस्थाले व्यवसायीको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । नेपाल मेडिकल व्यवसायी संघका तत्कालीन महासचिव नवराज पौडेलले स्वास्थ्य क्षेत्रका व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । विभिन्न संस्थाहरूले आफ्ना विधान र उद्देश्यभन्दा बाहिर गएर गतिविधि गर्दा व्यवसायी अन्योलमा पर्ने अवस्था सिर्जना भएको भन्दै उनले व्यवसायीको साझा हितका लागि संस्थागत एकता आवश्यक रहेको बताए । कार्यक्रम संघका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षतामा सम्पन्न भएको थियो । रघुनाथ पनेरु (कालिका)ले सञ्चालन गरेको कार्यक्रममा सोमराज लिम्बुले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा सिर्जनशील बाल सेवा परिवारकी अध्यक्ष उमा देवी कार्की बस्नेतले बालबालिकालाई लक्षित गरी सामाजिक सेवा गरेकोमा संघप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै यस्ता सेवा गर्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै स्वास्थ्य संस्था सञ्चालक संघका पदाधिकारी तथा सदस्यहरूको व्यावसायिक सफलताको शुभकामना दिइन् । संघले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको जनाएको छ ।
भीमफेदीमा अदालतका मुख्य न्यायाधीश सवार सवारी दुर्घटना, ६ जना घाइते
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् । प्रहरीकाअनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप बिहान करिव ७ बजे अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो । थप उपचारका लागि चालक चौधरी र रजिस्ट्रार बडूलाई हेटौंडा अस्पताल पठाइएको छ भने मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ । मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । अन्य घाइतेहरूको पनि टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र हाल सडकमा यातायात सञ्चालन सुचारु रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।