काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रको पछाडि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गरेकी छन् । उनले संवेदनशील स्वास्थ्य संस्था नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटोसमेत ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाइन् ।
उचित सूचना र पारदर्शी प्रक्रिया बिना निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उनले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले उक्त क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण नगर्न माग गरिन् । स्थानीय बासिन्दाले समेत निर्माणको विरोध गरिरहेको उनले बताइन् ।
सांसद न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण मर्कामा परेको विषयसमेत सदनमा उठाइन् । स्वास्थ्य बीमाको सुविधा सहज रूपमा नपाउँदा नागरिक बिचल्लीमा परेको भन्दै उनले कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘मेरो क्षेत्र काठमाडौं–१ को थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको छ । कुनै सूचना वा जानकारी नदिई बाटोसमेत ढाकेर निर्माण गर्न लागिएकोप्रति स्थानीयवासीको विरोध छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु ।’
सम्बोधनका क्रममा उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्यासमेत उठाइन् । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सम्बन्धमा पीडितले हालसम्म न सुन फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको उनले बताइन् ।
पीडितहरूको समस्या तत्काल समाधान गर्न र उनीहरूको सम्पत्तिको संरक्षण गर्न सरकारसँग उनले माग गरिन् ।