४ हजार मेगावाटका १९ आयोजना, विजनेश विस्तारमा आक्रामक प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा, प्रसारण, विद्युत व्यापार, इन्जिनियरिङ सेवा तथा डिजिटल पूर्वाधार क्षेत्रमा १९ वटा सहायक तथा सम्बद्ध कम्पनीमार्फत व्यवसाय विस्तारलाई तीव्रता दिएको जनाएको छ । प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सहायक कम्पनीमार्फत अतिरिक्त लगानी परिचालन, आयोजनाको जोखिम व्यवस्थापन, विशिष्टिकृत दक्षता विकास तथा रणनीतिक महत्वका ऊर्जा आयोजनाको कार्यान्वयनलाई गति दिन सफल भएको छ । प्राधिकरणको पहिलो सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी र त्यसका तीन सहायक कम्पनी सान्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत हाल २९२.४ मेगावाट विद्युत उत्पादन भइरहेको छ । चिलिमेका अन्य दुई सहायक कम्पनीमध्ये चिलिमे सेती हाइड्रोपावर कम्पनीले ८७ मेगावाट क्षमताको सेती नदी–३ जलविद्युत आयोजना विकास गरिरहेको छ भने चिलिमे इन्जिनियरिङ सर्भिसेस कम्पनीले इन्जिनियरिङसम्बन्धी सेवा प्रदान गरिरहेको छ । श्रेष्ठका अनुसार अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ । कम्पनीले २०.६६ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको विकाससमेत गरिरहेको छ । त्यस्तै, तामाकोशी जलविद्युत कम्पनीले ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मोदी जलविद्युत कम्पनीले कास्कीमा ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ र १८.२ मेगावाटको माथिल्लो मोदी क्यास्केड आयोजना विकास गरिरहेको उनले बताए ।  दूधकोशी जलविद्युत कम्पनीले ओखलढुङ्गा र खोटाङमा ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना विकास गरिरहेको छ । एसियाली विकास बैंकको सहयोगमा विस्तृत अध्ययन र डिजाइनको काम अघि बढिरहेको आयोजनाको वित्तीय व्यवस्थापन अक्टोबर २०२६ सम्म सम्पन्न गर्ने र सन् २०३५ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । चैनपुर सेती जलविद्युत कम्पनीले बझाङमा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ भने ग्रिड कनेक्सन सम्झौता पनि सम्पन्न भएको छ । त्रिशूली जलविद्युत कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजना निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ को अन्त्यसम्म आयोजनाको भौतिक तथा वित्तीय प्रगति करिब ७० प्रतिशत पुगेको छ । उत्तर गंगा पावर कम्पनीले निर्माण गर्ने ८२८ मेगावाटको उत्तर गंगा जलाशययुक्त जलविद्युत आयोजनाले पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । यसैगरी, तनहुँ हाइड्रोपावर कम्पनीबाट निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति करिब ७८ प्रतिशत पुगेको छ । कम्पनीले १२६ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजना पनि विकास गरिरहेको छ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले सङ्खुवासभामा १ हजार ६३.३६ मेगावाट क्षमताको अपर अरुण तथा ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजना विकास गरिरहेको छ । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ मा ५५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ । त्यस्तै, नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेडले नेपालभित्र तथा सीमापार विद्युत व्यापारका लागि आवश्यक कार्ययोजना तयार गरेको जनाएको छ । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले ४०० केभी क्षमताको ढल्केबर–भिट्टामोड प्रसारण लाइन सञ्चालन गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०८२÷८३ मा २८ करोड ३७ लाख ९० हजार रुपैयाँको कारोबार गरी ११ करोड ५१ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणले सूचना प्रविधिको अधिकतम उपयोग र व्यवसाय विस्तार गर्ने उद्देश्यले नेपाल डिजिटल इन्फ्रास्ट्रक्चर कम्पनीसमेत स्थापना गरेको छ । कम्पनीले ग्रिड सञ्जालमा आधारित अप्टिकल फाइबर र डाटा सेन्टरसम्बन्धी पूर्वाधार निर्माण गरी डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग गर्नुका साथै प्राधिकरणको आम्दानीका स्रोतलाई विविधीकरण गर्ने लक्ष्य लिएको छ ।

लामो समय अनुपस्थित रहेपछि सुदूरपश्चिमका प्रदेश सभा सदस्य देउवा पदमुक्त

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहेका प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ ।  प्रदेश सभा बैठकमा लामो समयदेखि बिनाजानकारी लगातार अनुपस्थित रहँदै आएकाले उनलाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।  सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भइसकेको र यसबारे भोलिको प्रदेश सभा बैठकमा औपचारिक घोषणा गर्ने तयारी रहेको जानकारी दिएका छन् ।  पूर्वमन्त्री समेत रहेका देउवा गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनलगत्तै पार्टी, प्रदेश सभा र प्रदेश सरकार कसैलाई पनि आधिकारिक जानकारी नदिई अमेरिका गएका थिए ।  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाशबहादुर बिनासूचना लगातार अनुपस्थित रहे पनि विगत ११ महिनादेखि उनको खातामा नियमित रूपमा प्रदेश सभाबाट तलबभत्ता दाखिला हुँदै आएको थियो ।  सूचना नै नदिई लामो समय गैरहाजिर रहेपछि सभामुखले उहाँलाई पदमुक्त गर्ने कानुनी प्रक्रिया अगाडि बढाएका हुन् । 

मञ्जुश्री फाइनान्स र अल्फा केयरबीच स्वास्थ्य सेवामा सहकार्यका लागि सम्झौता

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच विस्तार गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेड र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर भएको छ ।  वित्तीय र स्वास्थ्य क्षेत्रका यी दुई प्रतिष्ठित संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई प्रभावकारी, अर्थपूर्ण र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आगामी दिनमा नयाँ तथा उपयोगी योजनाहरू अघि बढाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । यस सम्झौतालाई दुवै संस्थाले आफ्नो सहकार्यको महत्त्वपूर्ण सुरुवातका रूपमा लिएका छन् । आगामी दिनहरूमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।  “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने“ साझा प्रतिबद्धता व्यक्त गर्दै दुवै पक्षले गुणस्तरीय स्वास्थ्य सेवालाई आम नागरिकका लागि थप पहुँचयोग्य बनाउने बताएका छन् ।