राजधानीका सडकै ज्यानमारा, एम्बुस बन्दै भ्वाङहरू

काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले स्मार्ट सिटी र स्याटेलाइट सिटी त कसैले मोनोरेल सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँधूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् । ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि एम्बुसजस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दाखेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् । त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् । बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ । यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् । जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ । अन्नपूर्ण पोस्टबाट ।

नारायणगढ मुग्लिन सडकखण्डमा २९ ठाउँमा पहिरोको जोखिम

चितवन । प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैनु, नारायणगढ काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे । बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छु, उनले भने ज्यानको माया मारेर हिँड्नुपरेको छ । खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए । २८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ । त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना ६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तैु लाग्न थालेको बताए । बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो, उनले भने । अन्नपूर्ण पोस्टबाट

भूकम्पपीडितले एक घण्टामै ट्याक्सी बेचे, ८० जनाले ट्याक्सी नम्बर लिएकामा ५० जनाले बेचिसके

  काठमाडौं । भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्। गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन्। यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन्। यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो। यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन्। जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ। भूकम्पपीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ। बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन्। घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ। उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ। यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताए। उनले भने, ‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन्।’ उनका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन्। सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन्। सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको थियो। भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि ट्याक्सी नम्बर वितरण गरिएको हो तर अधिकांशले ट्याक्सी बेचेपछि स्वरोजगार बनाउने सरकारको घोषणा असफल हुने देखिएको छ। जसलाई लक्षित गरेर सरकारले ट्याक्सी वितरण ग¥यो सोही लक्षित वर्ग लाभान्वित नहुने देखिन्छ। गोलाप्रथामा ट्याक्सी नम्बर पाएका परिवारले ट्याक्सी खरिद गरिसकेपछि विभागले नम्बर प्रदान गर्छ। गोलाप्रथामा परेका १५ सय जनामध्ये पाँच सय जना यातायात कार्यालयको सम्पर्क आएका छन्। यातायात कार्यालयले उनीहरूलाई बा। २ ज लेखेको प्लेट उपलब्ध गराएको छ। आठ सय सीसीभन्दा बढी क्षमताका गाडीलाई कार्यालयले मान्यता दिएको छ। तीन दिन लगाएर गरिएको गोलाप्रथामा १४ जिल्लालाई तीन भागमा बाँडिएको थियो। पहिलो दिन रामेछाप, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई ४९१ वटा ट्याक्सी छुट्याएर गोलाप्रथा गरिएको थियो। जसमा रामेछापमा १६५, काभ्रेपलाञ्चोकमा २ सय १ र नुवाकोटमा १२५ ट्याक्सी नम्बर पारिएको थियो। गोलाप्रथाको दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लालाई बाडिएको थियो। यी तीन जिल्लालाई ५१३ वटा ट्याक्सी नम्बर छुट्याइएको थियो। जसमा, दोलखामा २१४ वटा ट्याक्सी नम्बर वितरण भएको छ। त्यस्तै, सिन्धुलीमा ८६ वटा र सिन्धुपाल्चोकमा २५३ वटा ट्याक्सी नम्बर गोलाप्रथाद्वारा वितरण गरिएको हो। त्यस्तै, तेस्रो दिन गत असार ९ गते काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाको गोलाप्रथा गरिएको थियो। यी आठ जिल्लालाई ४९६ थान ट्याक्सी नम्बर छुट्याइएको थियो। जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई ११७, ओखलढंगालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर गोलाप्रथाद्वारा पारिएको थियो। नागरिक दैनिकबाट ।