उद्योग मन्त्रालयको समिक्षा: घरेलु र सैनिक उत्कृष्ट, आयल निगम झुर
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आफु सहित मतहतका विभिन्न विभाग,समिति र कार्यालयहरुको वार्षिक कार्य प्रगति मूल्याङकन गरेको छ । आर्थिक वर्ष २०७४ र ०७५ मा घरेलु तथा साना उद्योग विभाग (जिल्ला) र सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालय कार्यसम्पादनमा उत्कृष्ट बन्दा अबौंको कारोबार गर्ने आयल निगम सबैभन्दा झुर गर्ने निकायमा दर्ज भएको छ । मन्त्रालयलको समिक्षा विवरण अनुसार घरेलुले १०३.५० प्रतिशत कार्यप्रगति गरेको छ भने सैनिकले १०० प्रतिशत कार्यप्रगति गरको छ । ८० प्रतिशत भन्दा बढी कार्यप्रगति गर्ने ९ वटा विभाग तथा कार्यालय रहेका छन् । जसमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल गुणस्तर तथा नाप तौल विभाग, पेट्रोलियम अन्वेषण परियोजना, खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग विकास समिति, कम्पनी रजिस्टर कार्यालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय रहेका छन् । यसैगरी ५० देखि ८० प्रतिशत कार्य प्रगति गर्नेमा उद्योग विभाग, सडक विभाग, नेपाल विद्युत प्राधिकरण लगायत १६ वटा कार्यलय तथा विभाग रहेका छन् । यस्तै ५० प्रतिशत भन्दा कम कार्यप्रगति गर्नेमा ५ वटा कार्यालय तथा विभाग रहेका छन् । सबैभन्दा कम कार्यप्रगति गर्नेमा आयल निगम रहेको छ । उसले वर्षभरीमा जम्मा १४ प्रतिशत भन्दा मात्रै कार्यप्रगति गरको छ । आर्थिक वर्ष ०७४/०७५ ५० प्रतिशतभन्दा कम प्रगति गर्नेमा नेपाल भारत क्षेत्रिय व्यापार तथा पारवहन आयोजना, केन्द्रिय कारागार कारखाना र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना रहेका छन् । मन्त्रालयले मुख्य उपलब्धीहरुमा नवलपरासीको धौवादी फलाम अन्वेषणमा भएको प्रगति, धादिङको चुनढुङगामा भएको प्रगति, निजी क्षेत्रको ४ अर्ब लगानी भई भैरहवामा स्थापना हुने उद्योगले ३ हजार जनालाई रोजगारी दिने लगायत विषयलाई मूख्य उपलब्धीको रुपमा लिएको छ ।
४.१२ बिलियन डलर सहित युनाइटेड सर्वाधिक धनि क्लब, रियल र बार्सिलोनाको बजार मूल्य कति ?
काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेट विश्वकै सर्वाधिक धनि क्लब बनेको छ । अमेरिकन पत्रिका फोर्स म्यागेजिनले गरेको सर्वेक्षणमा युनाइटेडको बजार मूल्य सबैभन्दा बढी रहेको हो । ११६ वर्ष अघि स्थापना भएको युनाइटेडको बजार मूल्य हाल ४.१२ बिलियन अमेरिकन डलर रहेको छ । २० पटक इंग्लिस प्रिमियर लिग र ३ पटक च्याम्पियान्स लिग जितेको युनाइटेडको वल्ड ट्रार्फोडमा ७५ हजार जना क्षमताको स्टेडियम रहेको छ, भने विभिन्न क्षेत्रमा लगानी गरेको छ । दोस्रो स्थानमा स्पेनिस क्लब रियल म्याड्रिड रहेको छ । जसको बजार मूल्य ४.०८ बिलियन डलर रहेको छ । यस्तैगरी स्पेनिस क्लब बार्सिलोना तेस्रो स्थानमा परेको छ । उसको बजार मूल्य ४.०६ बिलियन डलर रहेको छ । ३.०६ बिलियन डलर सहित जर्मन क्लब चौथो स्थानमा रहेको छ भने इंग्लिस क्लब म्यान्चेस्टर सिटी पाचौं स्थानमा रहेको छ । एयरलाइन्स कम्पनी इतिहाडको स्वामित्व रहेको सिटीको बजार मूल्य २.४७ बिलियन डलर रहेको छ । सिटीलाई सबैभन्दा आर्थिक रुपले बलियो क्लबको रुपमा पनि हेरिएको छ । यस्तै २.२३ बिलियन डलर सहित आर्सनल छैटौं, २.०६ बिलियन डलर सहित चेल्सी सातौं, १.९४ बिलियन डलर सहित लिभरपुल आठौं, १.४७ बिलियन डलर सहित इटालियन क्लब नवौं स्थानमा रहेको छ भने इंग्लिस क्लब टोटेनहम हस्टपुर दशौं स्थानमा रहेको छ । उसको बजार मूल्य १.२३ बिलियन डलर रहेको छ । पछिल्लो समय युरोपमा फुटबलले उत्कृस्ट व्यवसायिक सफलता हात पार्दै गैरहेको छ ।
सरकारी कार्यालयले फेसबुक, ट्वीटर र भाइवर अनिवार्य, सरकारी कर्मचारीहरू उत्साहित
काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ । उहाँले सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदानप्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने बताए । कार्यालयले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ । ट्वीटरबाट कार्यालयले आफूलाई थप सहयोग हुने खालका विचार लाइक गर्ने, रिट्वीट गर्ने, सन्देश, फोटो र भिडियो शेयर गर्ने, कसैको भनाइ उद्धृत गर्ने जस्ता कार्य गर्न सक्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यलयले सेवाग्राहीलाई जवाफ दिँदा प्रतिवाद वा आक्रोश नझल्किने गरी शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ । कार्यविधिमा सामाजिक सञ्जाल प्रयोग गर्दा एक निकायले अन्य निकायसँग सहकार्य गरेर सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने व्यवस्था छ । कार्यालय प्रमुख उपाध्यायले सामाजिक सञ्जालको पेज बनाउँदा सरकारी संस्थाको नाम स्पष्ट झल्किने गरी बनाउनु पर्ने बताए । यस्तै भाइबर सञ्चालन गर्दा आफ्नै कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकतानुसार बढी मोबाइल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ । कार्यालयले सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाईंको प्रश्न/जिज्ञासा/गुनासो/समस्या/अन्यको जवाफ म्यासेजमार्फत दिइएको छ, हेर्नुहोला’ भनी उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘‘कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको हो”, उनले भने, “यसअघि कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई पनि एकरूपता ल्याई सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौ ।’’ यस्तै सामाजिक सञ्जालका खाता र ह्याण्डल सञ्चालन/व्यवस्थापनमा कुनै बाधा/व्यवधान/नसोचेको विषय आएको अवस्थामा सो समाधान गर्न प्रत्येक निकायमा एक समस्या समाधान टोलीको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । उनका अनुसार अहिले १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गरेका छन् । नयाँ नीतिले सरकारी कर्मचारीहरूमा उत्साह छाएकाे छ । यसअघि पटक पटक सामाजिक सञ्जाल सरकारी कार्यालयमा बन्द गर्ने र खुलाउने निर्णय भएका थिए । रासस