सबैभन्दा महंगो खेलाडी नेइमार जुनियर, यसरी हुन सक्छन् असफल
काठमाडौं । फुटबलमा लगातार ११ वर्ष लगातार राज गरेका क्रिष्टियानो रोनाल्डो र लियनल मेसि पछि पालो अब नेइमार जुनियरका भनेर आँकलन गरियो । तर उनको फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन जाने निर्णयले उनलाई फुटबलमा थप सफलता हात पार्न असजिलो पर्ने देखिएको छ । बार्सिलोना छोड्नु अघि उनलाई सबैको सुझाव थियो ठूला क्लब जानु अझ क्रिष्टियनो रोनाल्डोले झन् खुलेरै म्यान्चेस्टर युनाइटेड जना सल्लाह दिएका थिए । मेसि जेरार्ड पिके जस्ता प्रभावशाली खेलाडीले पनि बार्सिलोनामै बस्न र सोहि क्लबबाट बालोन डि ओर जिताउन सहयोग गर्ने बताएका थिए । तर उनको परिवारले यो कुरा स्वीकार गर्न सकेन । यो कुरा बार्सिलोनामा धेरै अप्रिय सिद्ध भयो । ९० हजार भन्दा बढी मानिसले आफुहरुका लागि नेइमार अब नरहेको भन्दै जिउँदै मानिसको १ मिनेट मौनधारण नै गरे । पिएसजी गएपछि नेइमारले धेरै गोल गर्नेछन् र यसको प्रभावबाट उनी अघि बढ्नेछन् भन्ने थियो तर उनले पहिलो सिजन लिग वानमा ३० गोल कटाउन सकेनन् । विश्वकप जितेर प्रभाव छाड्ने उनको सपना पनि अधुरो रह्यो । अब उनी कतारमा हुने विश्वकपमा ३० वर्षका हुनेछन् । पिएसजीका अध्यक्ष नासिर एल खालिफीले च्याम्पियान्स लिग जिताउन सबै प्रकारका तयारी गरेका छन् । नेइमार आफैंमा उत्कृष्ट ड्रिबल सहित आकर्षक सर्ट प्रहार गर्न सक्ने खेलाडी हुन् । तर उनको पोजिसन हेर्दा पिएसजीमै उनले सफलता हात पार्नेमा विश्वास गर्न सकिदैंन । किनभने पिएसजीमै अर्का प्रभावशाली खेलाडीहरु केलियन एम्बाप्पे र एडिसन काभानी रहेका छन् । यदि पिएसजीले लिग वान र च्याम्पियान्स लिग जितेको खण्डमा एबाप्पेले धेरै गोल गर्ने सम्भावना रहन्छ । फुटबलमा आफैं ड्रिबल गरेर गोल गर्न प्राय कठिन मानिन्छ, यसको लागि उनले काभानी वा एम्बाप्पेलाई असिस्ट दिनुपर्ने हुन्छ । यस अर्थमा एम्बाप्पेले विश्वकपमा एक प्रभाव छोडिसकेका छन् । फ्रन्समाा नेइमारलाई एम्बाप्पे भन्दा धेरै समर्थक जुटाउन अप्ठयारो पर्नेछ किनभने एम्बाप्पे फ्रान्सका राष्ट्रिय खेलाडी हुन् । नेइमारका लागि सन् २०२० मा ब्राजिलमै हुने कोपा अमेरिका जित्ने अर्को अवसर रहेको छ । मेसी र रोनाल्डोले ५५ पटक बालोन डे ओर जितिसक्दा नेइमारले एक पटक पनि जित्न सकेका छैनन् । यसरी हेर्दा नेइमार मेसी र रोनाल्डोको दाजोमा पुग्न केहि कठिन अवश्य देखिन्छ ।
युरोप र अमेरिकाबाट चार लाख पर्यटक भित्र्याउने निगमको लक्ष्य
काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा प्रमुख गन्तव्यमा निगमका जहाज नै उडाउने सरकारको योजना छ । सोही आधारमा निगमले गत दुई महिना असार १४ र साउन १० गते दुई ठूला क्षमताका ‘बाइड बडी’ जहाज भित्र्याएको छ । निगमले भित्र्याएका ती जहाज पूर्ववत् गन्तव्यका अलावा नयाँ गन्तव्यमासमेत उडान गर्ने योजना अघि सारेको छ । बाइड बडी जहाजले नयाँ गन्तव्यमा उडान भर्नेछन् भने आगामी दिनमा खरिद गर्न लागिएका ‘न्यारो बडी जहाज’ ले क्षेत्रीय उडान गर्नेछन् । नयाँ गन्तव्यमा उडानका लागि बिक्री प्रबन्धकको नियुक्ति तथा अन्य प्राविधिक तयारीको काम भइरहेको छ । जापानसँग द्विपक्षीय हवाई सम्झौता नवीकरण भएको छ । सो सम्झौतापछि सातामा १४ स्थानमा उडान गर्न सकिने भएको छ । यसअघि सातामा दुई उडान मात्रै हुने व्यवस्था थियो । जापानको नारिता र टोकियो विमानस्थलमा निगमका जहाज पुग्ने र त्यहाँबाट नेपाल आउन चाहने पर्यटकलाई सहज हुनेछ । निगमले जापान र दक्षिण कोरियासंग हवाई उडान सम्बन्धी पत्राचारसमेत गरेको छ । पत्राचारका आधारमा ती देशका उड्डयन अधिकारी नेपाल आएर जाँच गरेपछि उडानको स्वीकृति प्राप्त हुनेछ । ती देशमा उडानको अनुमति प्राप्त भएपछि युरोपेली सङ्घले तोकेको खतराको सूची स्वतः हट्नेछ । हवाई सुरक्षामा संसारकै उत्कृष्ट मानिएको दक्षिण कोरियामा उडान शुरु हुने वातावरण बनेपछि निगमका लागि थप स्वर्णिम ढोका खुल्नेछ । निगमले दक्षिण कोरियामा समेत निकट भविष्यमा नै उडान गर्ने तयारी गरेको छ । सरकारले कुटनीतिक पहलसमेत गरिरहेको छ । दक्षिण कोरियाबाट पनि नेपाल आउन चाहने पर्यटकलाई निगमले सहज सेवा उपलब्ध गराउनेछ । यस्तै युरोपका अन्य गन्तव्यको समेत खोजी भइरहेको छ । सरकारले विदेशमा रहेका नेपाली कुटनीतिक नियोग र गैरआवासीय नेपालीलाई समेत ‘आफ्ना मित्रलाई नेपाल पठाऔं’ भन्ने नाराका साथ काम गरिरहेको छ । नेपाल उडान गर्ने अन्य विदेशी विमान कम्पनीसँग पनि सरकारले धामाधम सम्झौता गरिरहेको छ । चीनबाट नौ वटा र भारतबाट छवटा विमान कम्पनीले नियमित उडान गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै श्रीलङ्का, पाकिस्तान, इण्डोनेसिया, भियतनामबाट पर्यटक भित्र्याउने गरी निमगले उडान गर्ने तयारी गरेको छ । ती मुलुकले निगमका अलावा आफ्नै विमान कम्पनीले समेत नेपालमा उडान भर्ने इच्छा व्यक्त गरेका छन् । चीन र भारतका पर्यटकलाई केन्द्रीत गरेर निगमले आफ्ना उडान विस्तार गर्ने योजना बनाएको र त्यसका लागि आवश्यक निर्देशनसमेत दिइएको मन्त्री अधिकारीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय ध्वजाबहाकको भूमिका नै महत्वपूर्ण रहने र त्यसका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइरहेको छ । निगमको टिकट खरिदका लागि अनलाइन बुकिङ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसबाट नेपाल आउन चाहने पर्यटकलाई थप सुविधा प्रदान गरिने छ । रासस
नेटगियर आइसिटी अवार्ड २०१८ सम्पन्न, ७ विधामा ९ जनालाई वर्षको सर्वोत्कृष्टको सम्मान
काठमाडाैं । लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरिएकाे छ । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए । समाज सरलबाट जटिलतर्फ जाने चर्चा गर्दै उनले मानिसको जीवन सहजताका लागि नयाँ प्रविधिको विकास भइरहेको बताए । ‘नेपालको आइसिटी क्षेत्रमा पनि केही हुँदैछ भन्ने प्रमाण आइसिटी अवार्डले दिएको छ । यो क्षेत्रमा सम्भावनाको खोजी गर्दै नयाँ पुस्तालाई भविष्य छ भनेर चिनाउन र हरेक चुनौतीलाई सबैले मिलेर सामना गर्न आवश्यक छ । ’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसी, पूर्वमन्त्री गणेश साह, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल लगायतले विकासमा आइसिटीको प्रयोग, सम्भावना र अवार्डले प्रदान गरेको उत्साहको विषयमा मन्तव्य राखेका थिए । विभिन्न विधाका विजयीहरुलाई मन्त्री बास्कोटासहित विभिन्न मन्त्रालयका सचिव, नेपालका सरकारका विभिन्न विभागका प्रमुख, आइटी क्षेत्रका उद्योगी एवं व्यवसायी, बैंकिङ तथा इन्सुरेन्स, शिक्षण तथा टेलिकम क्षेत्रका प्रमुखहरु सहित ४ सय ५० बढिको उपस्थिती रहेको थियो । आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रका विकास र विस्तारमा उत्कृष्टतको खोजी गर्ने अभियान भएको अवार्ड समितीका अध्यक्ष राजन लम्सालले बताए । प्रविधिको क्षेत्रमा अग्रजलार्इ सम्मान र नयाँलाई प्रोत्साहनको प्लाटफर्म विकास गरिएको लम्सालले कार्यक्रममा जानकारी दिए । कसलाई कुन अवार्ड ? आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो । सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । १० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो । नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै पाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ । अवार्ड ग्रहण गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सरकारको डिजिटलाइजेसनको अभियानसँगै प्रहरी सूचना प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढेको बताए । आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारीलाई तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन् । राजभण्डारीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा भित्र्याउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महत्वपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामार्फत यो क्षेत्रको उत्थानमा उनी सक्रिय रहँदै आएका छन् । विश्वास ढकाललाई आइसिटी आन्ट्रप्रेनर अवार्ड एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसिटी आन्ट्रप्रेनर अवार्ड प्राप्त गरे । विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टमार्फत् उनले ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । हाल एफवान सफ्टअन्तर्गत ई सेवालगायत १५ कम्पनी सञ्चालनमा छन् । पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ । निर्णायक र अनलाइन भोटिङको आधारमा पहिलो हुन सफल यस कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्याकंन र परिभाषित गर्ने गर्दछ । आइ–सोलुसन्स लाइफलाई आइसिटी प्रडक्ट अवार्ड दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ-सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो । यो प्रडक्ट लाइफ इन्सुरेन्स कम्पनी, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्सुरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । हाल ६ प्रमुख विमा कम्पनीहरुमा समेत यसको प्रयोग गरिएको छ । सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ । आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड प्रदान गरियो । हाल अमेरिकामा रहेका उनले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्दै आएका छन् । आइसिटी मिडिया रिकग्निसन न्यौपाने र साउदलाई त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्धय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसिटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो अवार्ड वितरण गरिन्छ ।