तेह्रथुम खण्डमा सडक निर्माणमा ढिलाइ
काठमाडौं । दुई वर्षअघि नै मार्ग खुलिसकेको पुष्पलाल मध्यपहाडीलोकमार्गको तेह्रथुम खण्डमा अहिले स्तरोन्नतिदेखि कालोपत्रसम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम नगर्ने गरेका कारण सडक निर्माण सुस्त गतिमा भइरहेको छ । कतिपय ठाउँमा मुआब्जा वितरण र रुख कटानमा समस्यालगायतले पनि अवरोध पु¥याएको निर्माण कम्पनीले जनाएका छन् । लोकमार्गको तेह्रथुम खण्डमा अहिले सडक निर्माण, स्तरोन्नति र कालोपत्र गरी १३ वटा खण्डमा टेण्डर लागिसकेको छ । तर २०७० सालदेखि कामको जिम्मा लिएका निर्माण कम्पनीले नै काम सम्पन्न गरेका छैनन् । लोकमार्गको पाँचथर जोरसाल–माझीटार खण्ड कालोपत्र भइसकेको छ । सोही समयमा ठेक्का लागेका तेह्रथुम खण्डका निर्माण कम्पनीले स्तरोन्नतिको काम नै सकेका छैनन् । जोरसाल–तमोर–संक्रान्ति खण्डमा स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ एण्ड थोकर निर्माण सेवाले २०७० सालमा जिम्मा लिएको कामको अहिलेसम्म ८० प्रतिशतमात्रै काम गरेको छ । जोरसाल–संक्रान्ति–म्याङ्लुङ खण्डअन्तर्गत नै विभिन्न खण्डमा स्तरोन्नति, ग्याभिङ निर्माण, नाली निर्माण र कालोपत्रसम्मका लागि रसुवा, डाँफे र इलाइट जेभी, रसुवा–एसविएजेभी, एसविएजेभी, महालक्ष्मी सिंह एण्ड ब्रदर्स, गौरी पार्वती र कोशी एण्ड न्यौपाने, भारत निर्माण, मैनाचुली, सिद्धिसाई जेभी, गाल्वा–रफिया जेभीलगायत निर्माण कम्पनीले कामको जिम्मा लिएका छन् । तीमध्ये अधिकांश कम्पनीको कामको प्रगति ४० प्रतिशत नाघेको छैन । अधिकांश कम्पनीलाई म्याद थप गरी काम गर्ने समय दिइए पनि समयमा काम गर्न नसकेको लोकमार्ग आयोजनाले जनाएको छ । रासस
हल्ला मच्चाएको भन्दै युगाण्डा सरकारले लगायो फेसबुकमा कर, राजस्व मात्रै १० अर्ब भन्दा बढी उठ्ने
काठमाडौं । युगाण्डा सरकारले समाजिक सञ्जाल चलाउनेलाई कर लिन सुरु गरेको छ । राष्ट्रपति युवेरी मुसेभेनीलाई समाजिक सञ्जालमा गरिने म्यासेज लगायतका कुराहरु मन नपरेपछि कर लगाउने निर्णय गरेकाे बिबिसीले जनाएको छ । मुसेभेनीले सामाजिक सञ्जालले हल्ला धेरै फैलाएको र उत्पादकत्व घटाएको भन्दै दैनिक ५ रुपैंया कर उठाउने निर्णय गरेका हुन् । भ्योइस म्यासेज तथा म्यासेजिङ सेवा भएको एप्स प्रयोग गर्ने ग्राहकले दैनिक ५ रुपैंया बुझाउनु पर्नेछ । प्रत्येक ५ जनामा १ जना गरिबीको रेखामुनी रहेको सो देशमा धेरै व्यक्तिलाई आर्थिक असर पर्ने देखिन्छ । दैनिक ५ रुपैंयाको दरले एक व्यक्तिले १५० रुपैंया तिर्नुपर्नेछ भने वार्षिक रुपमा १८ सय तिर्नु पर्नेछ । आलोचकहरुले भने सरकारी यस कदमले नविन खोजलाई निरुत्साही बनाउने बताए । तर सरकारले भने १० अर्ब भन्दा बढी राजस्व उठ्ने दाबी गरेको छ । समर्थकहरुले भने सामाजिक सञ्जालको लत हटाउन सहयोग पुग्ने बताएका छन् ।
पुुनः प्रयोगका लागि वेष्टेज पदार्थको रिसाइकल गरिँदै, वार्षिक १५ लाख बचत हुने
काठमाडौं । खेर गएर वातावरण प्रदूषण पार्ने इण्डष्ट्रियल वेष्टजको पुनः प्रयोगबाट एउटा कारखानाले वार्षिक करिव १५ लाख रुपैयाँं वचत गर्ने गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ को जगाती हनुमानचास्थित गोर्खा इको प्यानलले निर्माण सामाग्रीको उत्पादनपछि निस्कने इण्डष्टियल वेष्टेजलाई पुनः प्रयोग गरी खोलानालाको प्रदूषणलाई समेत जोगाएको हो । धेरै उद्योगहरुले वातावरण प्रदूषण गरिरहेको बेला गोर्खा इको प्यानलले उद्योगबाट निस्केको इण्डष्टियल वेष्टेज (खेर जाने सामाग्री) को पुनः प्रयोग गरी उदाहरणीय काम गरेको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले नजिकै हनुमन्ते खोला भए पनि खोलामा कुनै वेष्टेज नपठाई पुनः प्रयोग गर्ने गरेको जनाए । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नारालाई आत्मसाथ गरी वातावरण तथा खोलानालामा कुनै प्रतिकुल असर नपर्ने गरी कारखाना सञ्चालनमा ल्याएका हौं, सीईओ दुवालले भने, लामो अध्ययन अनुसन्धानपश्चात पूर्ण वातावरणमैत्री इको प्यानल उत्पादनमा ल्याएका हौ ।’ ख्वप कलेज वातावरण विज्ञानमा स्नाताकोतर अध्ययन गरेका सन्ध्या थापाले गरेको अनुसन्धान अनुसार एक वर्ग फिट इको प्यानल उत्पादन गर्दा एक दशमलब ८७ मेगाजुल उर्जा खपत हुन्छ भने अरु परम्परागत निर्माण सामाग्री त्यही मात्रामा उत्पादन गर्दा ४४ दशमलब ३ मेगाजुल उर्जा खपत हुन्छ । त्यस्तैगरी एक वर्गफिट इको प्यानल उत्पादन गर्दा ८१ ग्राम कार्वोनडाइअक्साईड निस्किन्छ भने त्यही मात्रामा अरु सामाग्री उत्पादन गर्दा ८३८ ग्राम कार्वाेनडाइअक्साईड निस्कन्छ । काठमाडौं विश्वविद्यालयमा वातावरण इन्जिनियरिंग अध्ययन गरेका दिक्षा ढकालले गरेको अनुसन्धान अनुसार अन्य निर्माण सामाग्री भन्दा इको प्यानल उत्पादन गर्दा सल्फरडाइअक्साईड सात गुणा कम मात्रै निस्किन्छ ।