ठमेल र दरबारमार्गका व्यवसायीलाई धम्काएर रकम असुल्ने विमल मगर पक्राउ
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा रकम मागेर दुःख दिने र रकम नदिए झगडा गर्ने गरेको गोप्य सूचनाका आधारमा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस
चटकी नेइमारलाई रियल म्यड्रिडको ३१० मिलियन युरो अफर, छोड्लान पिएसजी ?
काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो । स्पेनिस टेलिभिजन टिभिइलाई उद्रित गर्दै नेइमारलाई अहिलेसम्मकै धेरै रकम प्रस्ताव गरेको गोल डटकमले जनाएको छ । नेइमार गत अगस्ट २०१७ मा पिएसजीले २ सय २२ मिलियन युरो तिर्न तयार भएपछि बार्सिलोनाका खेलाडी सेमियोडोसँग झगडा गर्दै फ्रान्स हानिएका थिए । पिएसजीमा आशातित सफलता हासिल गर्न नसकेका नेइमार घाइते भई खुट्टाको अप्रेशन गरी विश्वकपमा फर्किएका छन् । उनलाई बार्सिलोना छोड्न उनको बाबुले निकै बल गरेका थिए । उनको आमाले सार्वजनिक रुपमै आफ्नो छोरो रियल म्यड्रिडबाट खेल्ने बताइसकेकी छिन् । नेइमार बेच्ने नबेच्ने पिएसजीका मालिक नासिर अल खेलाफीको हातमा रहेको छ । पिएसजीसँग १९ वर्षका स्टार एम्बाप्पे रहेकाे छ । ठूलो अफरलाई उनले स्वीकार गर्न सक्ने अन्तराष्ट्रिय मिडीयाहरुले जनाएका छन् । खेलाफीले एम्बाप्पेलाई किनेको १ सय ८० मिलियन युरो समेत तिरेका छैनन् । नेइमार अहिले उच्च फर्ममा रसियामा विश्वकप खेलिरहेका छन् । तर उनको शारिरिक भाषालाई आधार मानेर चर्को आलोचकहरुले चर्को आलोचना गरेका छन् । उनी कोस्टारिकालाई हराएपछि मैदानमै रोएका थिए । मेक्सिकोसँगको खेलमा पनि उनी ठुलै घाइते भएझै आत्तिएर मैदानमा पछारिन्थे । मेक्सिकोको खेलाडीले खुट्टामा टेकेपछि उनी छटपटाउँदै मेडीकल टोली बोलाएको थिए । तेती मात्र नभएर रेफ्रीले भिडियो रेफ्रीको समेत सहायता लिएका थिए । तर त्यहा कुनै फल थिएन । तर फुटबल पण्डितहरु भने नेइमारले गरेको चटकी नै मेक्सिकोलाई हराउने आधार भएको बताउँछन् । मेक्सिको विरुद्ध १-० को अग्रता लिएपछि उनले गरेको समय बर्बादले ब्राजिलियन टोलीलाई फाइदा पुगेको थियो । अब सेमिफाइनलको लागि ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
चार दिनदेखि तारा एयरको विमान लुक्ला मै, प्राविधिकले निरीक्षण गरेपछि मात्र उड्ने
सोलुखुम्बु । यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल साइन भएको उक्त विमान अझै केहीदिन लुक्लाबाट काठमाडौँ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिएका छन् । शुक्रबार मौसम प्रतिकूल हुँदा पनि यहाँ अवतरण गरिएका दुई वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर तत्काल फर्कन सफल भए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयर लुक्लाले जनाएको छ । विमान कम्पनीको नियमअनुसार ४८ घण्टाभन्दा बढी सोही विमानस्थलमा राख्नुपर्ने अवस्था आएमा प्राविधिकले निरीक्षण गरेपछि मात्र उडान गर्नुपर्ने हुन्छ । नियमअनुसार अब लुक्लामा प्राविधिक आएर विमानको अवस्थाबारे निरीक्षण गरेपछि मात्र उक्त विमानले उडान गर्ने बताइएको छ । अहिले जिल्लाको माथिल्लो क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण जिल्लाको अर्को विमानस्थल फाप्लुमा समेत कुनै उडान हुनसकेको छैन । यहाँ हेलिकप्टरले समेत उडान भर्न सक्ने अवस्था नरहेको फाप्लु विमानस्थलले जनाएको छ । हेलिकप्टरले समेत उडान भर्न नसक्दा आकस्मिक बिरामीलाई काठमाडौं लैजान समस्या भएको सोलु हेल्थकेयर सेन्टर सल्लेरीका निर्देशक डा राजेन्द्र बस्नेतले बताए । “सघन उपचार कक्ष ‘आइसियु’मा राखेर उपचार गर्नुपर्ने बिरामी छन् तर लैजान सकिएको छैन, मान्छेको ज्यान बचाउन मुस्किल प¥यो ।” उनले भने, “अक्सिजन छुटायो भने एक घण्टाभन्दा बढी बचाउन सक्ने अवस्था छैन, गाडीबाट लानसक्ने स्थिति हुने कुरै भएन, मौसम प्रतिकूलताका कारण हेलिकप्टरसमेत आउन सकेन ।” गत असार १५ गते जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटनामा ज्यान गुमाएका दुईजना कर्मचारीको शव हेलिकप्टरबाट गृहजिल्ला लाने तयारी गरे पनि सफल हुन सकेन । दुई दिनसम्म हेलिकप्टरको पर्खाइमा बसे पनि सफल नभएपछि जीपमार्फत नै लगिएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटक अलपत्र परेको तारा एयर लुक्लाका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले बताएका छन् । उनले भने, “यति नै यात्रु छन् भन्ने यकिन तथ्याङ्क छैन, केही यात्रु पैदल यात्रापछि सदरमुकाम सल्लेरीबाट जीपमार्फत गएको बुझिएको छ भने केही यात्रु एक घण्टाको पैदल यात्रापछि तल सुर्के पुगेर हेलिकप्टरमार्फत गइरहेका छन् ।” देशभर भएको अविरल वर्षाको प्रभाव सोलुखुम्बुमा पनि परेपनि कुनै पनि अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस