म्यानपावर व्यवसायीलाई सरकारको चेतावनी, नवीकरण नभए खारेज गर्ने

काठमाडौं । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई संस्था दर्ता नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार विभागले इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण नगर्ने संस्थाहरूलाई समयमै प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो । 

विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्था, अनुमति प्राप्त संस्था, शाखा कार्यालय, अभिमुखीकरण तालिम प्रदायक संस्था, केयर गिभर तथा घरेलु कामदारसम्बन्धी सीप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम दिने संस्था तथा कुनै विशेष देशका लागि सूचीकृत संस्थाहरूले तोकिएको अवधिभित्र अनिवार्य रूपमा इजाजतपत्र तथा अनुमतिपत्र नवीकरण गर्नुपर्नेछ । 

वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेकाले त्यसको पालना गर्न विभागले निर्देशन दिएको हो । 

विभागका अनुसार तोकिएको समयभित्र नवीकरण नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । विभागले यसपटक नवीकरण गर्दा आधारभूत कागजातका अतिरिक्त गुगल प्लस कोडसहितको अद्यावधिक गुगल म्याप, संस्थाका सबै सेयरधनी, सञ्चालक तथा कार्यरत कर्मचारीहरूको विवरण र सम्पर्क नम्बरसमेत निवेदनसँगै पेश गर्नुपर्ने व्यवस्था गरेकोछ ।

Share News