महाकाली पुल क्षेत्रमा सेना परिचालन, भत्किएको गाइडबण्ड पुनर्निर्माण गर्ने
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ । गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी भीमदत्त नगरपालिका क्षेत्रका तटीय बस्ती जोगाउन काम नेपाली सेनालाई दिएको थियो । शुक्रबार मात्रै पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइडबण्डको स्थलगत निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुगेका थिए । लगत्तै सरकारले क्षति भएको गाइडबण्ड पुनर्निर्माण गर्न र आसन्न वर्षात्का हुनसक्ने सम्भावित क्षति कम गर्न पुनः शनिबारदेखि नेपाली सेना खटाएको हो । गाइडबण्ड क्षति भएको स्थलमा सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति उक्त योजनामा परिचालन भएको छ । सो क्रममा नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायक रथी बिजितराज रेग्मीसहित सैनिक प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन समेत पुगिसकेको छ । बाहिनीले योजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन काम थालिसकेको छ । त्यसका लागि सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न ठाउँबाट सेनाको टोली यहाँ आउने क्रम सुरु भइसकेको छ । क्षतिग्रस्त गाइडबण्ड क्षेत्रको अनुगमनका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले डिभिजन सडक कार्यालयलाई तत्काल पुनर्निर्माणको काम थाल्न आवश्यक सहयोग स्थानीयस्तरबाट लिन आग्रह गरे । ‘टिपर लगायतका सामग्रीका लागि स्थानीयस्तरबाट पनि सहयोग लिन सकिन्छ । जनशक्ति सहयोग सेनाबाट पूर्ण रूपमा रहन्छ,’ उनले भने । गत वर्ष पनि सेनालाई दिइएको जिम्मेवारी पूरा गरेका कारण महाकाली नदीले गाइडबण्डमा क्षति धेरै गर्न पाएन । यस वर्ष पनि दिइएको जिम्मेवारी अनुरूप गाइडबण्डको संरक्षण र थप क्षति हुन नदिने गरी सेना खटिएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटरमा क्षति पुर्याएको बताए । ‘क्षति पुर्याएको ठाउँमै केन्द्रित भएर सैनिक टोली पुनर्निर्माणमा खटिएको छ । त्यसका लागि मेसिनरी र प्राविधिक सहयोग हाम्रो रहन्छ, जनशक्ति सेनाबाट उपलब्ध भएको छ,’ उनले भने । पक्की पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) को विषय किनारा नलागेपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको छ । पुल निर्माण व्यवसायी र सडक विभाग बीचको मुद्दा अहिले मध्यस्थ न्यायाधीकरणमा (आर्बिट्रेसन) मा छलफलमा रहेको छ ।
काठमाडौंका १२८ स्थान डुबानको जोखिममा
काठमाडौं । यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जोखिम कम गर्नका लागि कामपाले मनसुनपूर्व तयारी र प्रतिकार्य योजनासमेत स्वीकृत गरेको छ । कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । उनका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । नेपालले भने, ‘वडा १४ सँगै वडा नं १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा देखिन्छन् । डुबान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं ४ र वडा नं ३२ मा १०/१० ठाउँमा डुबानको जोखिम देखिन्छन् ।’ उनका अनुसार वडा नंं १६ सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरूले यस वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुने अनुमान गरिएको विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार वडा नं २६ मा एक हजार २५५, वडा नं ३ मा ९५० र वडा नं ४ मा ९५५ परिवार प्रभावित हुनेछन् ।उक्त अनुमानका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवालगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बर तयारी अवस्थामा राखिएका कामपा विपद् व्यवस्थापन विभागले जनाएको छ । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ । जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि कामपाका ११ वटा विभागलाई जिम्मेवारी कार्ययोजना तोकिएका विपद् व्यवस्थापन विभागका प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार विपद्का समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् । यसअघिका वर्षहरूको अविरल वर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर कामपाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुबान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । कामपाकी कार्यवाहक प्रमुख एवं कामपा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले यसवर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधारमा कार्ययोजना स्वीकृत गरेको हो । उनले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइलगायत तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपद्का समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी छन् ।
अमेरिका-इरान शान्ति सम्झौता २४ घण्टाभित्र सम्भव भएको पाकिस्तानको दाबी
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार (आज) जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् । अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेखेका छन्, ‘पहिलेभन्दा धेरै बिषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौं ।’ ‘अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’