विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री थापा, बहुमत जुटाउन सकस

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका थिए । तर सरकार गठनका बेला रहेको राजनीतिक समीकरण अहिले फेरिएको छ । राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरेपछि मुख्यमन्त्री थापालाई बहुमत जुटाउन चुनौती थपिएको हो । मुख्यमन्त्री नियुक्त हुँदा थापालाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिसकेको छ भने अन्य तीन सांसदलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको छ । यससँगै मुख्यमन्त्रीको पक्षमा रहेको प्रारम्भिक समर्थन घटेको छ । हाल मुख्यमन्त्री थापाको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिन्छन् । राप्रपाका १२ सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने अवस्था बनेपछि थापालाई आवश्यक बहुमत जुटाउन कठिन देखिएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि दलका सांसदहरूले धारणा राखेपछि मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५३ मत आवश्यक पर्छ । तर प्रदेशसभा सभामुखविहीन रहेकाले मतदानको अंकगणित थप जटिल बनेको छ । संविधानको धारा १८६ अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मत दिन नपाउने अवस्था छ । त्यसैले प्रदेशसभामा कायम १०४ सदस्य भए पनि मुख्यमन्त्रीको पक्षमा आवश्यक मत जुटाउने चुनौती थपिएको हो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार गठनका क्रममा मुख्यमन्त्री थापालाई राप्रपासहितका दलको समर्थन रहेको थियो । तर अहिले राप्रपा विपक्षमा पुगेपछि थापाको सरकार अल्पमतमा पर्ने जोखिम बढेको छ । राप्रपाले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्विप जारी गरेकाले उसका १२ मत मुख्यमन्त्रीको पक्षमा जाने सम्भावना छैन ।

देशभर मनसुनी वायुको प्रभाव, यी ४ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।  थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् ।  थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।  उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।