काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका थिए । तर सरकार गठनका बेला रहेको राजनीतिक समीकरण अहिले फेरिएको छ । राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरेपछि मुख्यमन्त्री थापालाई बहुमत जुटाउन चुनौती थपिएको हो ।
मुख्यमन्त्री नियुक्त हुँदा थापालाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिसकेको छ भने अन्य तीन सांसदलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको छ । यससँगै मुख्यमन्त्रीको पक्षमा रहेको प्रारम्भिक समर्थन घटेको छ ।
हाल मुख्यमन्त्री थापाको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिन्छन् । राप्रपाका १२ सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने अवस्था बनेपछि थापालाई आवश्यक बहुमत जुटाउन कठिन देखिएको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि दलका सांसदहरूले धारणा राखेपछि मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५३ मत आवश्यक पर्छ । तर प्रदेशसभा सभामुखविहीन रहेकाले मतदानको अंकगणित थप जटिल बनेको छ ।
संविधानको धारा १८६ अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मत दिन नपाउने अवस्था छ । त्यसैले प्रदेशसभामा कायम १०४ सदस्य भए पनि मुख्यमन्त्रीको पक्षमा आवश्यक मत जुटाउने चुनौती थपिएको हो ।
बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
सरकार गठनका क्रममा मुख्यमन्त्री थापालाई राप्रपासहितका दलको समर्थन रहेको थियो । तर अहिले राप्रपा विपक्षमा पुगेपछि थापाको सरकार अल्पमतमा पर्ने जोखिम बढेको छ । राप्रपाले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्विप जारी गरेकाले उसका १२ मत मुख्यमन्त्रीको पक्षमा जाने सम्भावना छैन ।