वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई अघि बढाइरहेको जनाएको छ ।

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको १०० दिन: के-के भए काम ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन् । मन्त्री रावलले सार्वजनिक गरेको प्रगतिविवरणमा सहकारी पीडितको बचत फिर्ता प्रक्रिया अगाडि बढाइएको, सार्वजनिक सेवा प्रवाहलाई अनलाइन प्रणालीमा विस्तार गरिएको, नापी र मालपोतका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था अघि बढाइएको, भूमिहीन नागरिकलाई लालपूर्जा वितरणलाई तीव्रता दिइएको तथा ट्रेड युनियन व्यवस्थापनसम्बन्धी सुधारका पहललाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ । उनले संघीय प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ विभिन्न नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको दाबी गरेकी छन् ।  सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार डिजिटल प्रणाली विस्तार, भूमि प्रशासनको विकेन्द्रीकरण तथा सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार १०० दिनको अवधिमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको सुधार, सार्वजनिक प्रशासनको आधुनिकीकरण र स्थानीय तहको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरिएको छ । मन्त्री रावलले आगामी दिनमा पनि सुशासन, सेवा प्रवाहमा सुधार र नागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ मन्त्रालयका कार्यक्रमलाई निरन्तरता दिइने बताएकी छन् । यस्तो छ कामको सूची :

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गाको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।