काठमाडौं । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ ।
आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनालले बताए ।
‘मुख्य सडकको कालोपत्रे र ढलान सडक निर्माण सम्पन्न भइसकेको छ । अब सडक सुरक्षा अन्तर्गतको कामहरू मात्र बाँकी रहेका छन् । यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ,’ उनले भने ।
उनका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको ११३ किलोमिटर लामो नारायणघाट-बुटवल सडक आयोजना दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन् ।
सन् २०१९ मा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता भएको आयोजना कोभिड-१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ, विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरण, नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।
पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो । यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।
सूचना अधिकारी खनालले बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । देशकै अत्यधिक सवारी चाप हुने पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको यो सडक विस्तार आयोजना सम्पन्न भएपछि नारायणघाट-बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ । यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।