भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थली । जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।      बागमती प्रदेश सरकारको तीन करोड ३३ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए ।       तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले जानकारी दिए । पुल सम्पन्न भएपछि माडीसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौंसम्म पुर्‍याउन सहज हुने उनले उल्लेख गरे ।      यसले नागरिकको आवागमन सहज हुनुका साथै उत्पादित कृषि उपजको बजारीकरण हुने खाँडादेवी गाउँपालिका-४ का स्थानीय खेमबहादुर खत्रीले बताए ।   

ट्राफिक कारबाहीमा ६ लाख ४४ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ६ लाख ४४ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो ।       यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।  

लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको हो ।      काठमाडौंको टोखा नगरपालिका-९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, झापाको गौरीगङ्ज गाउँपालिका-२ बाट दुई, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका-४ कन्चनजङघा टोलबाट दुई पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।      भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे चोकबाट एक, मध्यपुरथिमि नगरपालिका-९ बोडेबाट एक, मध्यपुरथिमि-५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका एक जना पक्राउ परेका छन् ।      त्यस्तै, बर्दियाको राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट एक, सुनसरीको बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट छ, इनरूवा नगरपालिका-४ बसचोकबाट तीन, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट दुई, धरान उपमहानगरपालिका-१३ आदर्श नगरबाट एक, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट पाँच, इटहरी उपमहानगरपालिका-१७ बाट एक जना पक्राउ इलाका प्रहरी कार्यालयले जनाएको छ ।      कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्ती मसानघाटबाट तीन, नुवाकोटको विदुर नगरपालिका-९ बाघटारबाट दुई, सिराहाको गोलबजार नगरपालिका-६ गुम्बाटोलबाट एक जनालाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।