वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, निर्यात ३.१५ खर्ब मात्रै

काठमाडौं । नेपालको वैदेशिक व्यापार विस्तार भए पनि आयातको वृद्धि निर्यातभन्दा उच्च रहेपछि आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा आयात १६.२० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, गत आर्थिक वर्ष ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । यसअनुसार निर्यात १३.८१ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ।

आयातको वृद्धि दर निर्यातभन्दा उच्च रहेपछि व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले विस्तार भएको छ ।

तथ्यांकअनुसार आयात–निर्यात अनुपात ६.५१ गुणाबाट बढेर ६.६५ गुणा पुगेको छ । अर्थात् नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६५ रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको १३.३१ प्रतिशतबाट घटेर १३.०७ प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ८६.६९ प्रतिशतबाट बढेर ८६.९३ प्रतिशत पुगेको छ । 

Share News