घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् ।  नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले घरजग्गा क्षेत्रका विद्यमान चुनौती र सरकारले चाल्नुपर्ने नीतिगत कदमबारे ध्यानाकर्षण गराएका हुन् ।  अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण ‘रियल इस्टेट’ व्यवसायी सङ्कटमा परेको र यसले आमनागरिकको आवासमा पहुँचसमेत कठिन बनाएको बताए ।  ‘अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो’ , उनले भने ।  अध्यक्ष कुँवरले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानुनी बाधा हटाउन माग गरे ।  कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ अनुमति प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा विद्युतीय प्रणाली लागू गरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्नुपर्ने उनको माग थियो ।  अध्यक्ष कुँवरले भने, ‘ यी माग व्यवसायीको हितमा मात्र नभई राष्ट्रको समग्र सामाजिक-आर्थिक विकासका लागि पनि आश्यक छन् । त्यसैले सुरक्षित, दिगो र समावेशी सहरीकरणमार्फत नेपाललाई आधुनिक बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक छ ।’

ढुक्क हुनुस्, देश बनाउँछौं: महामन्त्री शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।  महामन्त्री शाहले भने, ‘सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ । अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ । हामीले सफा नियतका साथ काम गरिएका छौं । जनतासँग गरेका वाचा पूरा गर्न पार्टी र सरकार प्रतिबद्ध छ ।’  उनले पार्टी राजीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए । पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले सबल पार्टीको माध्यममार्फत देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।  उनले सबल पार्टी बनेमा कम्तीमा दुईरतीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए । महामन्त्री शाहले भने, ‘अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ । पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौं ।’ 

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः सह-संयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार (आज)  उद्घाटन गर्दै उनले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताए ।  सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबीच विभाजन आउने गरेको उल्लेख गरे ।  उनले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।  सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिए ।  उनले सामाजिक रुपान्तरणका लागि महिला वर्गको सशक्तीकरण अपरिहार्य रहेको र त्यसमा पार्टी सङ्गठन क्रियाशील रहेको विचार व्यक्त गरे ।  भेलाले केन्द्रीय समिति, सचिवालय, कार्यालय गठन गर्नुको साथै संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ ।