मधेशका नेताहरूसँग प्रधानमन्त्री बालेनले सुरु गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन् । प्रधानमन्त्रीले बिहीबार (हिजो) देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका थिए । उनले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवाससमेत पुगेका थिए । उनले राष्ट्रपति पौडैललाई सुनसरी, सिरहा, जनकपुर लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रहरी भन्छ– धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी होइनन्

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी कडेरी पुजारी भएको भन्दै फैलिएको सूचना गलत रहेको भन्दै प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको हो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गरे ।  जिल्ला प्रहरी कार्यालय, धनुषाले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक पुजारी नभई घुमी–हिँड्ने व्यक्ति रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मृतक बाहिर कामकाज गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेका थिए ।  उनले घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको र घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घटनालाई धर्मसँग जोडेर भ्रम फैलाउन नहुने आग्रह गर्दै यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ । घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

ब्रड पिकमा हिमपहिरो : चार शव फेला, ६ नेपाली सम्पर्कविहीन

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालको हिमपहिरोमा चारजनाको शव फेला परेको छ । चार जनाको शव फेला पारेको अल्पाइन क्लब पाकिस्तानका अध्यक्ष इरफान अर्शद खानले जानकारी दिएका छन् । खानले इन्स्टाग्राममा चार जनाको शव फेला परेको जानकारी दिएका हुन् । यद्यपि उनले शव क-कसको फेला परेको भनी पहिचान खुलाएका छैनन् । हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पूर्व रोयल मरीन निर्मल पुर्जासहित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा र नावाङ थिन्डु शेर्पा छन् । त्यस्तै, टोलीमा पाकिस्तानी पर्वतारोही सोहेल साखी, चिनियाँ पर्वतारोही वाङ झोङ, अमेरिकी पर्वतारोही म्यालोरी गाइस तथा ओमानका पर्वतारोही अहमद अब्दुल्लाह अल हार्थी पनि रहेका छन्। क्लब अफ पाकिस्तानले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ ।             View this post on Instagram                       A post shared by Irfan arshad khan (@irfan.a.khan)