चार जनाको शव भेटियो, निम्स पुर्जासहित ६ जना अझै बेपत्ता

काठमाडौं । पाकिस्तानस्थित ८ हजार ०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेका आरोहीमध्ये चार जनाको शव फेला परेको छ भने नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित ६ जना अझै बेपत्ता रहेका छन् ।

जुलाई ३० (बिहीबार) ब्रड पिकमा गएको हिमपहिरोपछि पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकाय तथा सम्बन्धित एजेन्सीसँग समन्वय गरी खोज तथा उद्धार अभियान जारी रहेको जनाएको छ ।

क्लबका अनुसार हालसम्म चार जनाको शव फेला परिसकेको छ भने बाँकी ६ जनाको खोजी भइरहेको छ । अल्पाइन क्लब अफ पाकिस्तानले हिमपहिरोमा परेका सबै आरोही, उनीहरूका परिवार तथा विश्वभरका पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुनासाथ थप विवरण सार्वजनिक गरिने जनाएको छ ।

हिमपहिरोमा परेका आरोहीहरूमा ओमानकी नाधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, संयुक्त राज्य अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।

उद्धार टोलीले प्रतिकूल मौसमका बीच बेपत्ता आरोहीहरूको खोजीलाई निरन्तरता दिएको जनाएको छ ।

Share News