प्रहरी भन्छ– धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी होइनन्

घटनालाई धर्मसँग नजोड्न आग्रह

काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उनी कडेरी पुजारी भएको भन्दै फैलिएको सूचना गलत रहेको भन्दै प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको पुष्टि गरे । 

जिल्ला प्रहरी कार्यालय, धनुषाले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक पुजारी नभई घुमी–हिँड्ने व्यक्ति रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार मृतक बाहिर कामकाज गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेका थिए । 

उनले घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको र घटनाको गहन अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले घटनालाई धर्मसँग जोडेर भ्रम फैलाउन नहुने आग्रह गर्दै यो विशुद्ध आपराधिक घटना भएको जनाएको छ । घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

Share News