काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन् ।
प्रधानमन्त्रीले बिहीबार (हिजो) देशवासीका नाममा पहिलोपटक सम्बोधन गर्दै सुनसरी र सिराहालगायत क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गरेका थिए ।
उनले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवाससमेत पुगेका थिए ।
उनले राष्ट्रपति पौडैललाई सुनसरी, सिरहा, जनकपुर लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।