भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो

काठमाडौं । चितवनस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, ‘दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिक रुपमा बढको छ ।’ हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ ।  भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए । 

अवैध पार्किङमाथि एक्सनमा उत्रिँदै महानगर, भाडाको १० प्रतिशत कर तिर्न उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी स्तरबाट सञ्चालन भइरहेका पार्किङ व्यवसायलाई कानुनी दायरामा आउन निर्देशन दिएको छ । महानगरपालिका क्षेत्रभित्र निजी जग्गा, व्यावसायिक भवन, घर, पसल, ग्यारेज, वर्कशप, गोदाम, टहरा तथा खाली जग्गामा सञ्चालन भइरहेका पार्किङ व्यवसायले सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको हो ।  यस्तै, सम्पत्ति भाडामा लगाएबापत प्राप्त हुने रकममा १० प्रतिशत बहाल कर तिर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महानगरले आर्थिक ऐनअनुसार तोकिएको कर तथा शुल्क बुझाउन पनि आग्रह गरेको छ । महानगरले हाल सञ्चालनमा रहेका पार्किङ व्यवसायीलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिँदै अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । राजस्व चुहावट नियन्त्रण र व्यवसायलाई औपचारिक दायरामा ल्याउने उद्देश्यले महानगरले पछिल्लो समय विभिन्न व्यवसायमाथि अनुगमनलाई तीव्र बनाएको छ । 

१० महिनामा १६.७४ अर्ब उठ्यो राजस्व, २ महिनामा ३२ प्रतिशतको दबाब

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको हाे ।  नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार लक्ष्य पूरा गर्न २ महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । तर पछिल्लो २ महिना चैत र वैशाखमा भने राजस्व सङ्कलन बढेको छ । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख पौडेलले बताए ।  नेपाल-भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात-निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । नेपालगन्ज भन्सारमा चालु आवको साउन महिनामा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार रुपैयाँ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रुपैयाँ रहेकामा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ तथा पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ सङ्कलन भएको छ ।  यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ, फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ, चैतमा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् २ अर्ब १४ करोड २५ लाख ५४ हजार रुपैयाँ र वैशाखमा २ अर्ब १५ करोड ८५ लाख २ हजार रुपैयाँ लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड २८ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख पौडेलले बताए ।  नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।