काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले वैदेशिक रोजगारीबाट नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा परेर सुन तथा अन्य बहुमूल्य सामान नबोक्न आग्रह गरेको छ ।
कार्यालयले मंगलबार (आज) सूचना जारी गर्दै विदेशबाट नेपाल फर्किने क्रममा अपरिचित व्यक्तिले आर्थिक प्रलोभन देखाएर सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन आग्रह गर्ने गरेको पाइएको जनाएको छ ।
विशेषगरी दुबई, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी यस्तो प्रलोभन दिने गरिएको कार्यालयले जनाएको छ ।
अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करले आफ्नो सामान नेपाल पुर्याइदिएबापत रकम दिने भन्दै यात्रुलाई प्रयोग गर्ने गरेको पाइएको कार्यालयको भनाइ छ ।
यस्ता व्यक्तिले सामानसँगै खरिद बिलसमेत उपलब्ध गराउने गरेको पाइएको कार्यालयले जनाएको छ ।
तर बिल वा अन्य कागजात उपलब्ध गराइएको भए पनि उक्त सामान नेपालमा ल्याउने क्रममा कानुनबमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा यात्रु आफै पक्राउ पर्न सक्ने चेतावनीसमेत कार्यालयले दिइएको छ ।
कार्यालयका अनुसार अपरिचित व्यक्तिले दिएको सुन वा बहुमूल्य वस्तु बोकेर नेपाल आउँदा यात्रुले आफ्नो सानो लापरवाहीका कारण ठूलो कानुनी समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।
त्यसैले विदेशबाट फर्किँदा आफूले नकिनेको वा अपरिचित व्यक्तिले दिएको सुन, बहुमूल्य धातु तथा अन्य शंकास्पद सामान नबोक्न कार्यालयले आग्रह गरेको हो ।
साथै विमानस्थलमा कुनै अपरिचित व्यक्ति वा दलालले शंकास्पद सामान बोक्न आग्रह गरेमा वा आर्थिक प्रलोभन देखाएमा त्यसको जानकारी तत्काल सम्बन्धित सुरक्षा निकायलाई गराउनसमेत कार्यालयले अनुरोधसमेत गरेको छ ।